हिमाली आवाज । भोटेकोशी बाढीमा बेपत्ता भएको २२ दिन बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको विहीबार अन्तिम संस्कार गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीहरूसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुग्नुभएको थियो। त्यसको भोलिपल्ट आएको विनाशकारी भोटेकोशी बाढीमा परेपछि उहाँको अवस्था अज्ञात छ ।
छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म घटनास्थल पुग्नुभएको थियो। घटनास्थलको अवस्था र बाढीले पु¥याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले लामो समयसम्म आशा भने मारेको थिएन ।

तर घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । पोखराको नदीपुरतल सेती नदीको तुलसीघाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिनुभयो ।
“बाढी आउनुअघि भदौ ९ गते साँझ मात्र सृष्टि नुवाकोट पुगेकी रहिछन् । बिहान परिवारसँग कुराकानी भएको रहेछ । त्यसपछि कुनै जानकारी प्राप्त भएन,” गौतमले भन्नुभयो, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ। तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो।”
देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा भने अधुरै बनेको छ । अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो ।
“होनहार छोरी, परिवारको आशा र देशको भविष्य बन्न सक्ने सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ । ” बरालले भन्नुभयो ।
यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ ।
टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन हुनुहुन्छ । लामो समयसम्म खोजी गर्दा पनि उहाँको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताउनुभयो ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
बाढीमा बेपत्ता आफन्तको खोजीका लागि परिवारजनले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि लामो समयसम्म कुनै जानकारी नआएपछि कतिपय परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन् ।
