पोखरामा अन्तर्राष्ट्रिय क्रिकेटको ढोका खुल्दै, भुटानको राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेल खेल्ने

हिमाली आवाज । विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।

आगामी आईसीसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक संघको आयोजनामा भुटानी टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो ।
पोखरामा हुने अभ्यास खेलले यहाँको क्रिकेट विकाससँगै खेल पर्यटन प्रवद्र्धन तथा पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“पोखराको क्रिकेट पूर्वाधार,खेलकुद गतिविधि तथा पर्यटनबीचको सम्वन्धलाई थप मजवुत बनाउन यो अभ्यास खेल महत्वपूर्ण हुनेछ । ” अध्यक्ष सिग्देलले भन्नुभयो ।

तालिका अनुसार भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग, तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्नेछ । सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

सेप्टेम्वर २७ अर्थात् विश्व पर्यटन दिवसका दिन पोखरा क्रिकेट मैदानमा भुटान र गण्डकी प्रदेशबीच हुने पहिलो अभ्यास खेललाई क्रिकेट र पर्यटनलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

गण्डकी प्रदेश क्रिकेट संघले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको संघका सचिव सुमनराज कार्कीले बताउनुभयो ।

“भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणबाट खेल पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय खेलकुद सम्बन्ध विस्तार तथा पोखराको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउन योगदान पुग्ने विश्वास लिएका छौँ । यसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट गतिविधिको नियमित आयोजना गर्ने वातावरण निर्माण हुनेछ । ” सचिव कार्कीले भन्नुभयो ।

Comments
Loading...