कालिका बहुमुखी क्याम्पसको ३५औँ क्याम्पस सभा सम्पन्न

शिक्षाको विकासमा योगदान पुर्‍याउँदै आएको क्याम्पसलाई थप सहयोग गर्ने संरक्षक क्रसको प्रतिबद्धता

हिमाली आवाज । कालिका बहुमुखी क्याम्पस, पोखराको ३५औँ क्याम्पस सभा सोमबार सम्पन्न भएको छ ।क्याम्पसका संरक्षक लेफ्टिनेन्ट कर्नेल जे.पी. क्रसको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा उहाँले कालिका बहुमुखी क्याम्पस शिक्षाको ज्योति बनेर यसको प्रकाश देशविदेशसम्म फैलिएको देख्न पाउँदा खुसी लागेको बताउनुभयो । क्याम्पसको परिकल्पना गर्ने तथा यसको विकासका लागि निःस्वार्थ भावनाले समय र योगदान दिने सम्पूर्ण सरोकारवालाप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

ब्रिटिस इन्डियन आर्मीमा कार्यरत रहँदा सेवाको सुरुआती दिनमा एक नेपाली सिपाहीले आफ्नो नाम, बुवाको नाम र गाउँको नामसमेत स्पष्टसँग भन्न नसकेको घटना स्मरण गर्दै उहाँले नेपालमा शिक्षाको ठूलो महत्त्व रहेको बताउनुभयो । यही अनुभवबाट प्रेरित भएर नेपालमा आई शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने निर्णय गरेको स्मरण गर्दै उहाँले कालिका बहुमुखी क्याम्पसले यस क्षेत्रको शैक्षिक विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले क्याम्पस परिवारलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पनि क्याम्पसको विकासका लागि थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले तीन दशकको अवधिमा क्याम्पसले हासिल गरेको प्रगति र उन्नतिका लागि संस्थागत स्थायित्व महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर क्याम्पसको विकासलाई केन्द्रमा राखी अघि बढ्न संरक्षक तथा सिनेटरहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष केसीले विगतमा जस्तै आगामी दिनमा पनि सबैको एकता, सहकार्य र समर्थनबाट क्याम्पसलाई यस क्षेत्रको प्रतिष्ठित तथा गुणस्तरीय प्रमाणपत्र प्राप्त सामुदायिक क्याम्पसका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित वार्षिक बजेटमाथि छलफल गरी पारित गरिएको छ । त्यसैगरी, क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतमले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा नीति र कार्यक्रम अनुमोदन गरिएको छ ।

सभामा संस्थापक सदस्य डा. कृष्ण केसी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोकर्ण कार्की, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि डा. पितृराज बास्तोला, सिनेटर तथा पूर्वक्याम्पस प्रमुख बालकृष्ण शर्मा र संस्थापक प्राध्यापक रामराज रेग्मीलगायतले क्याम्पसले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँहरूले लेखापरीक्षण प्रतिवेदन, वार्षिक बजेट तथा नीति र कार्यक्रमलाई खुला छलफलमा ल्याएर आर्थिक एवं प्रशासनिक पारदर्शिता कायम गरेकोमा सञ्चालक समिति र क्याम्पस प्रशासनलाई धन्यवाद दिँदै बधाईसमेत दिनुभयो ।

वक्ताहरूले बदलिँदो समय र श्रमबजारको मागअनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सिनेटर माधवप्रसाद बरालले गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एवं पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...