टान गण्डकीमा नयाँ नेतृत्व,तीर्थराज सुवेदीको अध्यक्षतामा सर्वसम्मत समिति गठन

हिमाली आवाज । गण्डकी प्रदेशमा पदयात्रा पर्यटन व्यवसाय गरिरहेका व्यवसायीको संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुवेदी सर्वसम्मत चयन हुनुभएको छ ।

टानको आज पोखरामा सम्पन्न ३३ औँ साधारण सभा तथा १०औँ अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्धितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सचिवमा भुपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल सर्वसम्मत चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल चयन हुनुभएको निर्वाचन समितिका संयोजक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिमा दुई सदस्य कार्यसमितिले मनोनयन गर्नेछ । नवनिर्वाचित अध्यक्ष सुवेदीले गण्डकी प्रदेशको पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउनका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । गाउँ गाउँसम्म पक्की सडक बनेसँगै पदयात्रा समय छोटिदै गएकाले नयाँ पदमार्गको खोजी र प्रवद्र्धन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

अधिवेशनको उद्ध्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले टानले गण्डकी प्रदेशको पर्यटन र ट्रेकिङ व्यवस्थापन देशकै नमुना रहेको उल्लेख गर्नुभयो ।

उहाँले टिम्स कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था संशोधन गरेर प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । “टिम्सको विद्यमान कानुनी आधार पर्याप्त नभएकाले आवश्यक कानुन संशोधन गरी कार्यान्वयनमा लैजाने योजनामा छौँ । ” निरौलाले भन्नुभयो ।

टानका केन्द्रीय अध्यक्ष सागर पाण्डेले पनि टिम्स कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । पर्यटन बोर्डको भूमिका पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताउँदै उहाँले बोर्ड पूर्वाधार निर्माणमा लाग्नु उपयुक्त नभएको टिप्पणी गर्नुभयो ।

टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटकको सुरक्षा र राजस्व संकलनसँग जोडिएकाले टिम्स अनिवार्य लागू गर्नुपर्ने बताउनुभयो ।पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार, पर्यटन बोर्ड र पर्यटनसँग सम्बन्धित संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले फ्लाई दुबईले पोखरा–दुबई उडान सञ्चालन गर्दा पोखराका पर्यटन व्यवसायीले सक्दो सहयोग गरिरहेको भए पनि सरकारले पर्याप्त चासो नदिएको गुनासो गर्दै पोखरा–दुबई उडानलाई सफल बनाउन प्रवद्र्धन र प्रचारप्रसारमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

Comments
Loading...