नेकपा कास्कीले सुरु गर्यो जागरण अभियान, दुई महिनामा ६ हजार सदस्य नवीकरण गर्ने लक्ष्य

हिमाली आवाज । कमजोर बन्दै गएको संगठनलाई पुनः सुदृढ बनाउने लक्ष्यसहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले दुईमहिने जागरण अभियान सुरु गरेको छ ।

आइतबार नेकपाका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानमार्फत जिल्लामा बाँकी रहेका ६ हजार पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने लक्ष्य राखिएको नेकपा कास्कीका इञ्चार्ज रामजीप्रसाद बरालले जानकारी दिनुभयो ।

कास्कीमा कुनै समय बलियो जनाधार बनाएको नेकपा पछिल्ला निर्वाचनमा लगातार कमजोर बन्दै गएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा चारमध्ये तीन क्षेत्रमा जित हासिल गरेको पार्टीले त्यसयता निर्वाचनमा सफलता प्राप्त गर्न सकेको छैन । २०८२ को निर्वाचनमा आफ्ना संगठित सदस्यको मतसमेत जोगाउन नसकेको अवस्थामा पार्टीले संगठन पुनर्निर्माणलाई प्राथमिकता दिएको हो ।

अभियानअन्तर्गत पोखरा महानगरमा दुई हजार ९५०, मादीमा एक हजार, माछापुच्छ्रेमा ७५०, अन्नपूर्णमा ८०० र रुपामा ५०० सदस्यको नवीकरण गरिने बरालले बताउनुभयो ।

यसैगरी जिल्लाका विभिन्न पालिकामा रहेका संघसंस्था, क्लब, आमा समूहलगायतसँग छलफल तथा अन्तरक्रिया गरिने नेकपा कास्कीका संयोजक खड्ग हमालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश इञ्चार्ज पौडेलले संविधान र व्यवस्थाको रक्षाका लागि पुराना राजनीतिक दलहरू पुनःजागृत हुनुपर्ने बताउनुभयो । जनतामाझ पार्टीको प्रभाव पुनःस्थापित गरेर देखाउने उहाँको भनाइ थियो ।

प्रदेश सहइञ्चार्ज श्रीनाथ बरालले जनतासँग टुटेको सम्बन्ध र विश्वास पुनःस्थापित गर्न अभियान आवश्यक रहेको बताउनुभयो । पार्टीका नेताहरूले विगतका कमजोरी सच्याउँदै संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी नेता राजकाजी गुरुङले जनतासँगको विगतको सम्वन्धलाई पुनः नविकरण गर्दै जनताका सुख दुखमा सँधै साथमा रहने बताउनुभयो। ।

दुईमहिने अभियानअन्तर्गत मंसिर ११ गतेदेखि जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरिने नेकपा कास्कीका सहसंयोजक विनय थापाले जानकारी दिनुभयो ।

Comments
Loading...