कृष्ण दवाडी,हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र( प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।
पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिव तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।
पोखरा साहसिक पर्यटनको विश्व प्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्य सहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचे डाँडामा बिहीबारदेखी स्कुल सञ्चालनमा ल्याएको हो ।

पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको लामो समय बितिसक्दा पनि दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण स्कुलको थिएन ।
प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहनुभएका विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीले रु एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गर्नुभएको हो । प्रशिक्षण केन्द्रका लागि अझै काम बाँकी रहेकाले लगानी अझै बढ्ने बताइन्छ ।
स्कुलका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित मैँचे डाँडाबाट उडान भरी मर्दी खोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचे डाँडा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त स्थान मानिएको छ ।
यहाँबाट माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृङ्खलासँगै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्ताम लगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
“हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्याराग्लाइडिङ स्कुलका लागि छनोट गरेका हौँ। लामो प्रक्रियापछि यो सम्भव भएको हो । यसबाट विशेषगरी दक्ष पाइलट उत्पादनमा सहयोग पुग्नेछ भने आगामी दिनमा व्यावसायिक उडानको समेत ढोका खुल्नेछ । ” सञ्चालक गौतमले भन्नुभयो।
स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिनुभयो ।
हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । चार सय जनाले पाइलटको लाइसेन्स लिएकामा दुई सय ५० जना विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । पोखराको प्याराग्लाइडिङ हाल सराङकोबाट सञ्चालन हुँदै आएको छ । प्याराग्लाइडिङ स्कुल स्थापनाका लागि माछापुच्छ«े गाउँपालिकाले गरेको सहयोग अन्तयन्त प्रशंसनीय रहेको भण्डारीले बताउनुभयो ।

प्याराग्लाइडिङका लागि अन्तर्राष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने प्रशिक्षण स्कुल स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको भण्डारीको भनाई छ ।
“प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन वर्षेनी दक्ष पाइलट उत्पादन हुनु आवश्यक छ। पोखरामा यसअघि प्रशिक्षण केन्द्र थिएनन्। यहीँ स्कुल स्थापना भएपछि यस क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनमा विशेष सहयोग पुग्नेछ भने विदेशी पर्यटक समेत यहाँ आएर प्रशिक्षण लिन सक्नेछन्। ” भण्डारीले भन्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखराको सराङकोटपछि रिभान पनि प्याराग्लाइडिङको अर्को आकर्षक गन्तव्यका रूपमा विकास हुन सक्ने बताउनुभयो। प्याराग्लाइडिङले पोखराको पर्यटन र समृद्धिमा पु¥याएको योगदान माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उहाँको विश्वास छ ।
“प्रदेश सरकारले यहाँ पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेको छ। प्याराग्लाइडिङको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा आगामी दिनमा पनि सहयोग गर्नेछौँ । ” उहाँले भन्नुभयो।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवद्र्धनसँगै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विगतमा पदयात्रा मार्गका रूपमा परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उहाँले यस क्षेत्रको विकासमा गाउँपालिकाले ध्यान दिने बताउनुभयो।
माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायण पौडेलले रिभानको प्याराग्लाइडिङस्थलमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताउनुभयो। वडाको पहलमा प्रदेश सरकारको सहयोगमा शहीद पार्क निर्माण गरिएको उल्लेख गर्दै उहाँले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
“प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन, नयाँ उडानस्थलको विकास र ग्रामीण पर्यटन विस्तारका दृष्टिले रिभानमा खुलेको स्कुल महत्वपूर्ण छ । यसबाट समग्र माछापुच्छ्रे गाउँपालिकाले लाभ लिन सक्छ । ” वडाध्यक्ष पौडेलले भन्नुभयो ।
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले गाउँपालिका पदयात्रा पर्यटनसँगै साहसिक पर्यटनमा समेत सम्भावना बोकेको क्षेत्र भए पनि यसको विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।
स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले पर्यटक आगमन बढाउनुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने विश्वासमा आफूहरु रहेको बताउनुभयो ।
यसले गाउँ छाडेर बाहिरिएका स्थानीयलाई समेत गाउँ फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सक्ने उहाँको भनाइ छ । “ गाउँका अधिकाँस बजार झरेपछि अहिले रिभान गाउँ अहिले रित्तो भएको छ । अव गाउँमै सम्भावना बढेपछि गाउँ छाडेर गएका पनि आफ्नै थातथलोमा फर्केलान् भनेर खुशी भएका छौँ । ” गुरुङले भन्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी, अन्नपूर्ण संरक्षण क्षेत्र आायोजना ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतम लगायतले स्कुल स्थापनाले समग्र माछापुच्छ«ेको पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभएको थियो ।
रिभानको मैँचे डाँडा पुग्न पोखराबाट जीपमा एक घण्टा यात्रा गर्नुपर्छ । लाहाचोकको पातीखोला पुगेपछि डाँडा चढ्नपर्छ । डाँडामा पुगेपछि देखिने दृश्यले सबैलाई मोहित पार्ने गरेको छ ।
