हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले नेपाल पर्यटन पत्रकार सङ्घ गठन गरेको छ ।
सङ्घको अध्यक्षमा हरिप्रसाद बास्तोला सर्वसम्मत चयन हुनुभयो । सङ्घको १५ सदस्यीय तदर्थ समिति शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
सङ्घको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ(रोजी), महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी तथा समावेशी सचिवमा विजय नेपाली र कोषाध्यक्षमा चन्द्रिका घिमिरे रहनुभएको छ ।
सङ्घको सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा, सरिता गुरुङ, दीननाथ बराल, राम गुरुङ, राजु गिरी र रामशरण नेपाली रहनुभएको छ ।
दर्ता प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा सञ्चारमाध्यम तथा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
“नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पत्रकारिताले योगदान पु¥याइदै आएको छ ।” उहाँले भन्नुभयो ।

सङ्घका अध्यक्ष बास्तोलाले पर्यटन पत्रकारहरूको साझा संस्थाका रूपमा सङ्घलाई अघि बढाउने बताउनुभयो ।पर्यटन क्षेत्रको विकासका लागि प्रचारप्रसारसँगै खोजमूलक पत्रकारितालाई प्राथमिकता दिइने उल्लेख गर्दै उहाँले सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य, कला, संस्कृति, प्राकृतिक सम्पदा तथा स्थानीय पर्यटन व्यवसायलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सङ्घले भूमिका खेल्ने बताउनुभयो ।
“पर्यटन पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक हकहितको संरक्षण तथा पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने छौँ ।” अध्यक्ष बास्तोलाले भन्नुभयो । सङ्घले आगामी दिनमा गर्ने कार्यक्रम तथा गतिविधिबारे पहिलो बैठकपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
सङ्घका महासचिव घनश्याम पाण्डेले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा पत्रकारिताको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सङ्घ स्थापना गरिएको बताउनुभयो ।
पर्यटकीय गन्तव्यको पहिचान, खोज तथा प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रका सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने कामलाईे प्राथमिकता दिइने पाण्डेले बताउनुभयो ।
