कोरोनाका कारण विश्व पर्यटनमा तीन खर्ब २० अर्ब डलर घाटा

म्याड्रिड । कोरोनाभाइरस सङ्कटले २०२० को पहिलो छ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

मंगलबार म्याड्रिडस्थित विश्व पर्यटन संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटको वेलाको घाटाभन्दा तीन गुणा बढी घाटा भएको छ ।”

महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको संगठनको ठहर छ ।

“यस पछिल्लो तथ्याङ्कले पर्यटन यथासम्भव सुरक्षित हुने बित्तिकै पुनः सुरु गर्नुको महत्व स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय पर्यटनमा भएको भारी गिरावटले लाखौंको जीविका जोखिममा रहेको छ,“ संगठनका महासचिव जुराब पोलोलिकाश्विलीले भने ।

महामारीबीच पर्यटन गतिविधि बिस्तारै केहि गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ । संयुक्त राष्ट्रसंघीय उक्त सङ्गठनले यस क्षेत्रमा ‘गम्भीर तथा नकारात्मक जोखिम’ को सामना गर्नुपरेको बताए ।

भाइरसको सङ्क्रमणको पुनः आगमनले नयाँ लकडाउन, यात्रा प्रतिबन्ध र ‘अधिकांश गन्तव्यहरु’ मा सीमा बन्द गर्न सक्ने र यसले थला परेको पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि अपनाइने प्रतिबन्धात्मक नियमबारे सम्वेदनशिल बन्न पनि उनले जोड दिए ।

Comments
Loading...