च्याउ खाँदा बिरामी परेका एकैघरका थप ३ को मृत्यु

काठमाडौँ,१३ साउन । च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।

गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए ।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा पौडेलले बताए ।

Comments
Loading...