मर्दी पदयात्रा : पर्वतीय पर्यटनको गन्तव्य

पोखरा,१४ साउन । पोखराको पर्यटनको शुरुआत पर्वतीय पर्यटनबाट भएको हो । हिमाल चढ्ने सन्र्दभबाट यहाँको पर्यटन विकास हुन थालेको हो ।

हिमाल आरोहण र पदयात्रा र हिमश्रृङ्खलाको दृश्यावलोकनले मुख्य गरी पर्यटनलाई धानेको छ । हातले समाउन सकिएलाझैं लाग्ने गरी आँखै अगाडि ठडिएका हिमश्रृङ्खला । हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीको दृश्यावलोकनको अवसर पर्यवतीय पर्यटनमा मिल्छ । पर्वतीय पर्यटनको नयाँ गन्तव्यका रुपमा मर्दी हिमाल पदयात्रा विकास हुँदै गएको छ ।

एउटै यात्राबाट कुमारी माछापुच्छ्रेसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढीरहेपनि पछिल्लो समय कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दी तथा कोरोनाका कारणले प्रभावित बनेको छ । देशका अन्य पदयात्रा क्षेत्रजस्तै मर्दी हिमाल पदयात्रा समेत ठप्प छ ।

हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छ्रेसँगैको मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रुपमा विकास गरिएको छ । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

भ्यू प्वाइन्टबाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यका लगायतका क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिन्छ । अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँको रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् ।
पाँच–छ वर्ष अघियस मार्ग गुमनाम जस्तै थियो ।

पर्यटक देख्न समेत मुस्किल पर्ने गरेकामा दुई–तीन वर्षयता आएर मुख्य सिजनमा व्यवसायीलाई पर्यटक राख्न धौधौ हुने गर्दछ भने अन्य समयमा समेत पर्यटकको आउजाउ बाक्लो छ । त्यसमा विदेशीसँगै नेपालीको संख्या पनि उत्तिकै छ । पर्यटक बढेसँगै पहिल्यै बुकिङ्ग गरेर आउनेले बाहेक अन्यले मुख्य याममा पर्याप्त पूर्वाधार अभावमा दुःख समेत पाउने गरेका छन् ।

छोटो दूरीको पदयात्रा भएकाले समेत किशोरदेखि वृद्धवृद्धासम्मलाई यसले आकर्षित गरेको छ । छोटो अवधिमा नै पूरा गर्न सकिने भएकाले समेत व्यस्त दैनिकी भएकालाई समेत यसले लोभ्याउने गरेको छ । कतिपय पर्यटक जिपमा कालीमाटीसम्म पुगेर हिमशृङ्खलाको दृष्यावलोकन गरेर त्यहीँबाट फर्कने गर्दछन् ।

चक्रीय अन्नपूर्ण, घान्द्रुक, घोरेपानीलगायतका चर्चित पदयात्रा मार्गमा अहिले सडक पुगेर पदयात्रीलाई असुविधा पुगिरहेको अवस्थामा मर्दी हिमाललाई ट्रेकिङ रुटकै रुपमा विकास गरिनुपर्ने माग पर्यटन व्यवसायीको छ ।

विभिन्न ठाउँको पदयात्रामार्गलाई मोटरबाटोले ध्वस्त बनाएको अवस्थामा यस मार्गलाई सडक पहुँचबाट टाढानै राखेर पदयात्रामार्गकै रुपमा विकास गर्दै पर्यटकलाई रमाउने वातावरण तयार पार्नुपर्ने ट्रेकिङ एजेन्टस् एशोसिएशन नेपाल (टान) पश्चिमाञ्चल च्याप्टर पोखराका सचिव जीवनराज सापकोटा बताउँछन् ।

Comments
Loading...