हिमाली आवाज । गाजा पट्टीबाट हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । दुई वर्ष अघि हसासले अपहरण गरेर लगेका मध्ये जिवित रहेकाहरुलाई हसासले आज रिहा गरेको हो । सोही अपरणमा परेका नेपालका विपिन जोशीको अवस्था भने अज्ञात रहेको छ ।
इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान–प्रदान गरिएको हो । उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो । तर विपिनकाे अवस्थाकाे बारेमा केही पनि जानकारी प्राप्त हुन सकेकाे छैन ।

हमासकाे नियन्त्रणबाट मुत्त भएका यी बन्धकलाई दक्षिणी इजरायलको एक सैन्य आधारमा लगिएको छ । त्यहाँ उनीहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराइनेछ । त्यसपछि हेलिकप्टरमार्फत तिनीहरूलाई इजरायलका विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षणका लागि स्थानान्तरण गरिने योजना रहेको बताइएको छ ।
अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखी जारी युद्ध अन्त्य भएको हो । दुई दिनअघि युद्धविरामको सहमति भएको थियो ।
सम्झौताअनुसार इजरायलले एक हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ र गाजामा खाद्य सामग्री तथा मानवतावादी सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिनेछ । यो कदम युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको एक महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ ।
गाजा युद्धका कारण दशौँ हजार प्यालेस्टिनीको मृत्यु र व्यापक विनाश भएपछि यो सम्झौता शान्ति स्थापनातर्फको एक निर्णायक मोडका रूपमा देखिएको छ । सोमबारको रिहाइले युद्धविरामको व्यवहारिक कार्यान्वयनको सुरुवात गर्दै क्षेत्रीय स्थायित्वको नयाँ सम्भावना उजागर गरेको छ ।