नेकपा विवादले कास्कीका कार्यकर्ता निराश, विभिन्न माध्यमबाट पार्टी एकतावद्ध बनाउन खबरदारी

पोखरा,१५ साउन । “कम्युनिष्ट पार्टीमा लागेर अकुत कमाएर रमाएकाहरुलाई त मज्जा आएको होला । आफन्त गुमाएका परिवार, घाईते योद्धा र मृत्युको मुखबाट फुत्केर बाँचेका एवं इमान्दार कार्यकर्तालाई नेकपाको गतिविधिले चिन्ता बढाएको छ ।”

गण्डकी प्रदेशसभा सदस्य समेत रहेका नेकपा प्रदेश कमिटी सदस्य रामजी प्रसाद बरालले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको भनाई हो यो । पार्टी केन्द्रमा दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) पक्षबीचको विवादबाट चिन्ता व्यक्त गर्दै बरालले सार्वजनिक रुपमा चिन्ता व्यक्त गरेका हुन् ।

सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा जति चर्चा र चासो बढेको छ त्यसरीनै पार्टी भित्रको विवाद झन् बढ्दै जाँदा जिल्लामा कार्यकर्ताहरु समेत पार्टी विभाजनको सम्भावित सङ्कटबाट चिन्तित छन् । पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति केन्द्र देखी जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरेका छन् ।

पार्टीको अहिलेको विवादले चरम निरासा छाएकाले नेतृत्वले सुझबुझ ढङ्गबाट मतभेदको समाधान गरी सम्पूर्ण पार्टी नेता कार्यकर्ता र जनतामा उत्साह दिन सक्नुपर्ने भनार्ई प्रदेशसभा सदस्य बरालको छ ।

“तत्कालीन दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा ठूलो त्याग, समर्पण र बलिदानबाट स्थापित भएको हो, देशको समृृद्धिको अगुवाई गर्ने जिम्मेवारी रहेको पार्टीको नेतृत्वमा देखिएको विवादले हामी चिन्तित छौँ।”बरालले भने,“अहिलेको अन्तरविरोधलाई हल गरेर दुई अध्यक्षले पुनः कार्यकर्तामा उत्साह जगाउने र खुःशीको खबर दिनुहुनेछ भन्ने विश्वास छ ।”

कास्कीको माछापुुच्छ«े गाउँपालिका–२ सार्र्दिखोलाका हर्कबहादुर घर्ति क्षेत्रीले कम्युनिष्ट पार्टीमा चार दशकभन्दा बढी समय खर्चिए । पञ्चायत कालमा नेकपाका नेता वामदेव गौतम, स्व.जीवराज आश्रित, किरण गुरुङ लगायतका नेताहरुले उनको घर ‘सेल्टर’ बनाए । आफू पनि शिक्षण पेशा सहित निरन्तर राजनीतिमा लागे ।

हाल ७५ वर्षको उमेरमा समेत सक्रिय छन् र नेतृत्वमा देखिएको अहिलेको विवाद समाधान हुने र पार्टी नफुट्नेमा विश्वस्त भएपनि पछिल्ला घटनाक्रमबाट चिन्ता व्यक्त गर्दछने । तत्कालीन नेकपा एमाले र माओवादीका बीचमा एकता भएर एउटै पार्टी गठनले आफूहरुको सपना पूरा भएको र गाउँमा बस्ने कार्यकर्तामा उत्साह थपेको बताउँदै उनले पार्टीका दुई अध्यक्ष मिलेर अहिलेको विवाद मिलाउनुपर्ने र सबै नेताहरुलाई समेट्नुपर्ने बताए ।
उनले भने,“आफू भोकै बसेर भएपनि पालेका नेताहरुले पहिलाको भूमिगत अवस्था बुझेर जनतालाई सुःख सुविधा र देशको विकास गर्छन् भन्ने थियो तर ती सबै सपना भए । अहिले एकतापछि केही होला भन्ने लागेको थियो तर आँफू÷आँफू शक्तिका लागि लड्न थाले ।”

क्षेत्री थपे,“अझैपनि समय छ स्थायी कमिटी, सचिवालयमा नेताहरुले सल्लाह, सुझाव लिएर पार्टीलाई मिलाउलान् र एकताका लागि छाती ठूूलो बनाएर त्याग गरेर भएपनि पार्टी बचाउलान् भन्नेमा छौँ ।”

नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल जनताको चाहना, देशको आवश्यकता र दुई अध्यक्षको निर्णय गर्ने क्षमताका कारण दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि पार्टी एकता भएकाले अहिलेको गतिविधि तत्काल रोेकिनुपर्ने बताउँछन्।

“कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र देशको विकासका लागि दुई अध्यक्षहरु मिल्नुको विकल्प छैन,जनताकाबीचमा गरेको कबोल पूरा गर्नेतर्र्फ ध्यान दिनु आवश्यक छ, महानगर कमिटीले विज्ञप्ती मार्फत नेतृत्वलाई एकतावद्ध हुन आग्रह गरी सकेका छौँ ।” पौडेलले भने ।

राष्ट्रिय युवा सङ्घका जिल्ला संयोजक भोजराज पौडेलले केन्द्रमा चलेको विवादले तल्ला तहमा सङ्गठनात्मक गतिविधि तथा एकीकरणका बाँकी काम समेत प्रभावित भएको बताए ।

दुई अध्यक्षले एकताको मर्म र भावनालाई आत्मसात् गरेर जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनको म्याण्डेट अनुसार पार्टी विधि र विधानमा सञ्चालन गर्दै आम जनताको सपना साकार पार्नुपर्ने बताउँदै पौडेलले भने,“कम्युनिष्ट पार्टीलाई जनताले दिएको मत कदर गरेर सरकार सञ्चालन गर्नु पर्दछ, पार्टी विभाजनको कुनै पनि गुञ्जायास समेत कार्यकर्तालाई सह्य छैन ।”

नेकपामा अहिले गाउँ, जिल्ला तथा प्रदेशस्तरमा क्रियाशिल पार्टीका विभिन्न नेता तथा कार्यकर्ताले सामाजिक सञ्चाल लगायतका माध्यमबाट पार्टी एकतालाई बचाउन, विवादलाई वार्ता र सम्वादका माध्यमबाट हल गर्न आग्रह गरिहेका छन् ।

Comments
Loading...