हिमाली आवाज । भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२० पुरुष क्रिकेटको अभ्यास खेलमा नेपाल क्रिकेट संघ(क्यान)–११ सँग पराजित भएको छ ।पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा भुटानी टोलीलाई क्यान–११ ले १३ रनले पराजित गरेको हो ।
आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि नेपाल भ्रमणमा भुटानी टोलीले पोखरामा यसअघि दुई वटा अभ्यास खेल खेलिसकेको छ । घरेलु टोली गण्डकीसँगका दुबै खेलमा भुटानी टोलीले पराजय बेहोर्यो ।
क्यान–११ ले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभर पूरै खेल्दै नौ विकेट गुमाउँदै एक सय १० रन मात्र बनाउन सक्यो ।
भुटानका लागि नाम्गे थिन्लेले सर्वाधिक २९ रन बनाए । उनले ४४ बलमा पाँच चौका प्रहार गरे । सोनाम चोपेलले १७ बलमा दुई चौका र एक छक्कासहित १९ रन बनाए ।
थिन्ले जाम्त्सोले १४ बलमा दुई छक्काको मद्दतमा १९ रन जोडे । क्यान–११ का बलरमध्ये विपिन शर्माले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । विपिन खत्रीले चार ओभरमा २० रन दिएर दुई तथा युवराज खत्रीले दुई र दयानन्द मण्डलले एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो । क्यान–११ का कप्तान विपिन खत्रीले ३६ बलमा पाँच चौका र चार छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।
ओपनर अर्जुन कुमालले २१ बलमा दुई चौका र एक छक्का सहित २५ रन बनाए । भुटानी टोलीले अभ्यास खेल अन्तर्गत शुक्रबार अन्तिम खेलमा क्यान–११ सँगनै खेल्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।
आगामी अक्टोबर ३ देखी मलेसियामा आईसीसी ‘मेन्स टी–२०’ विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ । सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको हो ।
