पोखराको फिर्के खोलामा फेरी चल्यो डोजर,नागरिक खवरदारीले पाउँदै सार्थकता

हिमाली आवाज । पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका संरचना हटाउने कार्य पुनः सुरु गरेको छ ।

फिर्के खोलाको खोलाघरभित्र निर्माण भएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले आफैँ हटाउने भनी महानगरपालिका समक्ष मौखिक सहमति जनाए पनि सहमति अनुसार संरचना नहटाएपछि महानगरपालिकाले आजदेखि हटाउने कार्य अगाडि बढाएको हो ।

महानगरपालिकाले फिर्के खोलाको संरक्षण, विकास तथा सम्वद्र्धन गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियान अन्तर्गत गत जेठ १० गतेदेखी खोलाघरभित्रका संरचना हटाउने कार्य अघि बढाएको थियो ।

केही संरचना हटाएपछि स्थानीयको आग्रहमा हटाउनका लागि थप समय दिइएको थियो । तर यसबीचमा संरचना पूर्ण रुपमा नहटेपछि महानगरले अतिक्रमण हटाउन पुनः सुरु गरेको जनाएको छ । महानगरले गरेको नाप जाँच अनुसार फिर्केमा स्थायी र अस्थायी गरी एक सय ६० संरचना छन् ।

फिर्के खोलाको प्राकृतिक बहाव कायम राख्दै यसको संरक्षण र व्यवस्थापन मार्फत पोखराको वातावरणीय सौन्दर्य तथा पर्यावरणीय सन्तुलन कायम गर्न महानगरपालिकाले संरचना हटाउने कार्यलाई निरन्तरता दिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्रभित्र रहेका संरचना हटाउने विषयमा लामो कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अदालतको आदेश समेत पर्खिएपछि महानगरपालिकाले संरचना हटाउने कार्य अघि बढाएको हो ।

“महानगरपालिकाले यसअघि केही संरचना हटाएपछि सम्बन्धित घरधनी तथा संघ–संस्थाहरूले आफैँ संरचना हटाउन समय उपलब्ध गराइदिन अनुरोध गर्नुभएको थियो । सोहीअनुसार निश्चित समयसीमा तोकेर आफैँ संरचना हटाउने अवसर दिइएको थियो। तोकिएको समयसीमा तथा थप गरिएको समयसँगै भोटेकोशीमा आएको बाढी र वर्षायामलाई समेत मध्यनजर गरी अतिरिक्त समय उपलब्ध गराउँदा पनि कतिपय संरचना नहटाइएपछि महानगरपालिकाले माइकिङ मार्फत अन्तिम सूचना जारी गरेको थियो।” प्रमुख आचार्यले भन्नुभयो ।

फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र संरक्षण, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र सुरक्षित तथा व्यवस्थित पोखरा निर्माणका लागि संरचना हटाउने अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।

फिर्केका खोलाघरभित्रका संरचना हटाउन ढिलाइ भएपछि नागरिक समाजले निरन्तर महानगरको ध्यानाकर्षण गराउँदै आएको थियो ।

नागरिक अभियन्ता रामबहादुर पौडेलले फिर्केको खोलाघरमा निर्मित बाँकी संरचना खाली गर्ने अभियान सुरु भएकामा खुशी व्यक्त गर्नुभयो ।
“हामीबाट कसैमाथि कुनै पूर्वाग्रह नराखी थालिएको खवरदारी अभियानले सार्थकता पाउन थालेकामा खुशी व्यक्त गर्दछौँ । खोलाघरमा बनेका संरचना पूर्ण खाली गरेलगत्तै दोस्रो चरणमा मुआब्जा वितरण र दायाँवायाँ फुटट्रयाक र साइकल लेन सहित करिडोर निर्माणमा महानगरले काम गर्नुपर्छ । ” अभियन्ता पौडेलले भन्नुभयो ।

साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ ।
फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ वटा गरी पाँच सय ८८ सिमा स्तम्भहरु गाडिएका छन् ।

Comments
Loading...