गण्डकी प्रदेशमा आज एकै दिन ६० सङ्क्रमित थपिए

पोखरा,१२ भदौ । गण्डकी प्रदेशमा पछिल्लो केही दिनयता दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

साँझ ७ बजेसम्मको विवरण अनुसार आज मात्र गण्डकीका चार जिल्लामा ६० जना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखरामा मणिपाल अस्पतालमा कार्यरत एक जना चिकित्सकमा समेत सङ्क्रमण पुष्टि भएको छ । लमजुङमा २० जना प्रहरी तथा एक जना थुनुवामा समेत सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा कास्कीमा १७,लमजुङमा २६,तनहुँमा चार, र नवलपरासी(वर्दघाट सुस्ता पुर्व)मा १३ जना थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म सङ्क्रमित दुई हजार ६५ पुगेका छन् भने निको हुनेको सङ्ख्या एक हजार ६८९ रहेको छ ।

Comments
Loading...