उद्योगी हरि पाण्डेद्वारा कास्की र पाल्पाका सबै वडामा रु ५० हजारको छात्रवृत्ति वितरण घोषणा

तीन करोड ८० लाख बराबरको छात्रवृत्ति वितरण गरिने

पोखरा, १८ साउन । पूर्वमन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेले रु तीन करोड ७९ लाख ५०  बराबरको छात्रवृत्ति वितरण गर्ने घोषणा गरेका छन् ।

आफू अध्यक्ष रहेको मातृसेवा प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेका हुन् ।

पाल्पा जिल्लामा ४० लाख ५० हजार बराबरको ‘रम्भादेवी’ छात्रवृत्ति वितरण भैसकेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा वितरित सो छात्रवृत्ति पाल्पाका ८१ वटा वडा समेट्ने गरी ९२ जनालाई गत फागुनमा वितरण गरिएको हो ।

कास्कीमा ‘कर्मभूमि’ नामको छात्रवृत्ति वितरण गरिनेछ । जिल्लाका पोखरा महानगर तथा चार वटै गाउँपालिकाका सबै वडाबाट एक–एक जना समेट्ने गरी जनही ५० हजार दरले ३९ लाख रुपैयाँ छुट्टाइएको पाण्डेले जानकारी दिए ।

यसका अलावा पाण्डेले अन्य विभिन्न छात्रवृत्ति समेत वितरण गर्दै आएका छन् । जीवनलाई फरक ढंगले परिभाषा गर्ने उद्योगी पाण्डेले विगतदेखि नै विभिन्न नाममा छात्रवृत्ति वितरण गर्दै आएका छन् । सो छात्रवृत्तिबाट हालसम्म ४ सय २६ लाभान्वित भैसकेका छन् ।जसअनुसार १ सय ४० जनाले प्राविधिक विषयअन्तर्गत ग्राजुयट तहमा पूर्ण र आंशिक छात्रवृत्ति पाएका छन् । जसमा विभिन्न इञ्जिनियरिङ, कृषि र वनमा गरी ८२ जनाले पूर्ण र ५८ आंशिक प्राप्त गरिसकेका हुन् ।

यस्तै, उनकी छोरी डा. शान्ति पाण्डेको स्मृतिमा १ सय ९४ जनाले नर्सिङ लगायत स्वास्थ्यसम्बन्धी शिक्षा प्राप्तिका लागि छात्रवृत्ति पाएका छन् भने पाल्पामा नन–ग्रायजुयट प्राविधिक विषयमा ९२ जना गरी कुल ४ सय २६ जनाले पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गरेका हुन् । अब कास्कीमा सहित छात्रवृत्ति प्राप्त गर्नेको संख्या ५ सय ४ हुनेछ ।

‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक सार्वजनिक
उद्योगी पाण्डेले लेखेको पुस्तक ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ आजनै विमोचन गरिएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा भएको सो समारोहमा ६ सय २४ पृष्ठ लामो सो पुस्तकको उनकी माता शिवकुमारी पाण्डेले विमोचन गरेकी हुन् ।

छ अध्याय रहेको सो पुस्तकमा उनले नेपालले आफ्नै सम्भावना प्रयोग कसरी समृद्धि प्राप्त गर्न सक्छ र मानव भइसकेपछि आफ्नो कत्र्तव्य पूरा गर्न के गर्नुपर्छ भन्नेबारे मिहिन ढंगले व्याख्या गरेका छन् ।गरिबी, असमानता तथा अपमानबाट मुक्तिको लागि समाधान बताउने पाण्डेले सकेसम्म स्वदेशी बस्तुको प्रयोग गर्ने, सकेसम्म बढी प्रतिफलयुक्त कार्यमा संलग्न हुने र सकेसम्म कम खर्चमा जीवनयापन गर्ने कुरा प्रयोगमा ल्याउँदै आएका छन् ।

मातृसेवा प्रतिष्ठान नेपालका उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएकोे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

Comments
Loading...