कन्चन पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत

पोखरा,२७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले सञ्चालन गरेको कन्चन पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार रुद्रबहादुर थापा तथा बाग्लुङका पत्रकार राजेशचन्द्र राजभण्डारी पुरस्कृत भएका छन् ।

आज फोनिजको २१ औँ स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,फोनिजका प्रदेश अध्यक्ष एमवी आस्थामगर तथा पुरस्कारका संस्थापक विमलमान गुभाजू लगायतले दुबैजनालाई रु २५ हजार तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशमा कोरोना महामारीका विरुद्ध अहिले लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताए । सरकार आफ्नै साधन स्रोतबाट महामारीसँग लडिरहेको भन्दै उनले कोरोनासँग लडिरहेको अवस्थामा अहिले पार्र्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ शर्माले पत्रकार महासंघसँग मिलेर पत्रकारलाई सहयोग गर्ने कार्यक्रम रहेको बताए ।

पत्रकार थापा तथा राजभण्डारी तीन दशकदेखी पत्रकारितामा क्रियाशिल रहनुभएको छ । दुबै जनाले प्राप्त पुरस्कारबाट आफूहरुलाई पत्रकारिता क्षेत्रमा अघि बढ्न प्रेरणा मिलेको बताए ।

सम्मान कार्यक्रममा फोनिजका प्रदेश इन्चार्ज हुमबहादुर गुरुङ, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रतिभा छनोट समितिका संयोजक सुरेन्द्र थापामगर, फोनिज महासचिव रुद्र श्रीसमगर लगायतले पछाडी परेका र दबिएका आवाजलाई पत्रकारिताको माध्यमबाट समाजमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

पोखराका व्यवसायी गुभाजूले आफ्ना स्वर्गिय माता÷पिताको स्मृतिमा फोनिजले सञ्चालन गर्ने गरी पहिलो पटक पत्रकारिता पुरस्कार घोषणा गरी अक्षयकोषका लागि रु छ लाख हस्तान्तरण गरेका थिए ।

Comments
Loading...