पुस्तक समीक्षा :सिकाइ र सहयोग पुस्तकभित्र विचरण गर्दा

♦ नारायणप्रसाद सुवेदी
कोभिड–१९ को सङ्क्रमणका कारण देशमा गत वर्षको चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भयो । विद्यालय, कार्यालय, पसल, व्यापार, यातायात, पर्यटन सबै क्षेत्रमा यसले प्रभाव पा¥यो । नागरिकहरू घरघरमा बस्न बाध्य भए, यसरी बस्नु नागरिक कर्तव्य पनि थियो । गत वर्षको चैतको अन्तिमतिर साङ्ग्रिला प्रकाशनले खगराज बरालको ‘सिकाइ र सहयोग’ पुस्तक बजारमा ल्यायो । बन्दाबन्दीको समयमा बजारमा आएको यो पुस्तक पाठकहरूलाई अध्ययनको खुराक बन्यो । यसै सिलसिलामा मैले पनि यो पुस्तक आद्योपान्त नै पढेँ । यस लेखमा पढ्दा मलाई लागेका अनुभूतिलाई लिपिबद्ध गरेको छु ।

चाणक्यले भनेकाछन्, “अनन्त शास्त्रं बहुलाश्च विद्या अल्पश्च कालो बहुबिघ्नता च,
यत्सारभूतम् तदुपासनीयं हंसो यथा क्षीरमिवाम्बुमध्यात् ।”
अर्थात शास्त्र अनन्त छन्, विद्या धेरै छन्, समय थोरै र बिघ्नहरू धेरै छन् । यसैले जुन सार तत्व हो त्यसलाई हाँसले पानीबाट दुध निकाले झैं लिनु पर्दछ ।हाम्रो जीवनको थोरै समयमा धेरै कुरा सिक्नु पर्ने बाध्यता छ ।सबै कुरा अनुभवबाट मात्र सिक्छु भनेर सम्भव हुँदैन । अरूको अनुभव र उनीहरूले सिकेका कुरा बाट पनि सिक्न सकिन्छ ।कति कुरा पढेर सिकिन्छ भने कति कुरा अनुभवबाट सिकिन्छ । त्यसैले त पुर्खाहरूले भन्ने गर्थे कि त पढेर जानिन्छ कि त परेर जानिन्छ ।

लेखक खगराज बरालले सिकाइ र सहयोग पुस्तकमा परेर सिकिने खालको अनुभूति हुने गरी छनक दिएका छन् । बसमा चढ्दा, निम्तो मान्न जाँदा, साथीको घरमा जाँदा, विदेश भ्रमण जाँदा होस् या कसैले आफूप्रति गरेको व्यवहारले पारेको अनुभूति होस् जुनसुकै ठाउँमा र जो सुकैलाई भेट्दा पनि एक न एक खालको सिकाइ र प्रेरणा लिएको अनुभव लेखकसंँग छ ।

यस पुस्तकमा लेखकले पच्चीसवटा शीर्षकमा समेट्ने प्रयास गरेका आफ्ना अनुभवर सिकाइ निकै प्रेरणादायी छन् । लेखकले प्रस्तुत गरेका सबै विषयवस्तुहरू आफ्नै अनुभवमा आधारित भएर लेखेका छन् । कुनै विषयलाई लेखकले आपैm भोगेका छन् भने कुनै विषयलाई देखेका, सुनेका, छामेका र चाखेका पनि छन् । यस्ता विषय वस्तुहरूलाई कुनै महिला अधिकारसँग सम्बन्धि छन् त कुनै बाल अधिकारसँग । लेखकका पच्चीसवटा शीर्षक मध्ये सबैनै ‘कसारको के गुदी र के बोक्रो’ भने झै छट््याउन नसके जस्तै उस्तै महत्वका देखिन्छन् । सबै शीर्षकलाई समेट्न नसकेकाले यहाँ केही शीर्षकको मात्र प्रसङ्ग कोट्याउने प्रयास गरिएको छ ।

पुस्तकको सुरुवातीमा नै बालबालिकाहरूको अधिकारको कुरा उठाएर हाम्रा व्यवहारले कतिपय बालबालिकाको हक अधिकार कुण्ठित मात्र पारेको छैन, उनीहरूको मनोकाङ्क्षामा ठोस पुगेको हुन्छ भन्ने अवस्थाको ज्ञान दिने प्रयास गरेका छन् । बालबालिकाहरूले आफ्ना अभिभावकबाट कस्तो व्यवहार चाहन्छन् भन्ने कुरा अप्रत्यक्ष रूपमा लेखकले उठाएका छन् । घर वा सार्वजनिक स्थलमा गरिने निर्माणमा बालबालिकाहरूको शारीरिक अवस्थाको ख्याल नगरिनु बाल मनोविज्ञान प्रतिको बेवास्ता हो भनेर सबै किसिमका व्यक्तिगत तथा सार्वजनिक निर्माणमा बालबालिकाको पक्षलाई ख्याल दिनुपर्ने सन्देश उक्त पुस्तक मार्फत लेखकले दिएका छन् ।

हामी नेपालीहरूले हामीसंँग सम्पत्तिका रूपमा भएको संस्कारलाइ वेवास्ता गरेर कथित विदेशीको नक्कल गरेर बोल्ने भाषा समेतको वैज्ञानिक पक्षलाई ख्याल नगरिएको, संस्कृत भाषालाई महत्व नदिने गरिएको, हिन्दु दर्शनलाई बुझ्ने प्रयास नगरिएको जसले गर्दा सो दर्शनमा भएका ज्ञान विज्ञानका कुराहरूबाट अहिलेको पुस्ता बञ्चित रहेका छन् । विदेशी मान्छेहरूले अध्ययन गरेका छन् र संस्कृतको महत्व बुझेका छन् । उनीहरूले सम्झाएपछि मात्र हामीले बुझ्ने गरेको अनुभव लेखकलाई पनि छ ।चीनिया विज्ञटोलीका सदस्यहरूले पूर्वीय वैदिक दर्शन रगीताका बारेमा राखेको जिज्ञासाबाट समेत प्रष्ट हुन्छ कि विदेशीहरू संस्कृत भाषाप्रति र संस्कृति प्रति जिज्ञासु छन् र यसको महत्व कति बुझेका छन् भनेर ।लेखकले यसको दृष्टान्तसमेत पुस्तकमा दिएका छन् ।

विद्यालय स्तरमा हुने शिक्षण सिकाइका कार्यहरूअपेक्षित हुन सकेका छैनन् । तालिम र अनुभव भए पनि कतिपय सिकाइका विषयवस्तु विद्यार्थीका लागि बोधगम्य भएका छैनन्् । यस्ता विषयवस्तुलाई बोधगम्य बनाउने दायित्व शिक्षकको हो । लेखकले धेरै ठूलो कुरा नगरिकन सामान्य उदाहरणबाटजटिलभन्दा जटिल विषयवस्तु सिकाउन सकिन्छ भन्ने कुरा ‘सिकाउने आफ्नै काइदा’ शीर्षकमा उल्लेख गरेका छन् । जापानी स्वयम्सेवकले प्रस्तुत गरेको एक पाटमा शाकाहारी र मांसाहारीबीच फरक देखाउन प्रयोग गरेको विधिलाई सिकाउन असल काइदाका यसमा उदाहरण दिएका छन् । हाम्रा विद्यालयहरूमा पनि यसरीनै सिकाइ गर्न सके प्रभावकारी शिक्षण हुन सक्थ्यो भन्ने भावना लेखकको रहेको देखिन्छ ।

बोलीचालीमा भाषाको प्रत्यक्ष प्रभाव त रहन्छ नै तर पनि ठाउँ र परिवेश अनुसार शव्दहरू प्रयोग हुन सकेन भने राम्रो भावनाले प्रस्तुत गरेको भाव पनि बिग्रिएर अन्यथा अर्थ लाग्ने हुन्छ । हाम्रै देशका विभिन्न भूगोलमा बोलिने शब्दहरूले ठाउँ विशेषको अर्थ दिने गरेको परिवेश लेखकले बझाङमा रहँदा त्यहाँ गोरु ब्याएको कुरालाई लिएर उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् । त्यहाँ गाई गोरुको समूहलाई एकमुष्टमा गोरु भनिने हुनाले गोरु ब्याउँछनै तर अन्यत्र गोरु ब्याउँछभन्दा सबैलाई अनौठो लाग्छ ।अझ कतिपय ठाउँमा त “भाग्यमा भए गोरु पनि ब्याउँछ” भनेर असम्भव हुने कुरालाई उखानको रूपमा भनिने गरेको पनि छ ।आफूले बोल्दा त्यो शब्दले सुन्ने मानिसमा कस्तो प्रभाव पर्छ ? सो ख्याल नराखी बोल्नु हुन्न र विशेषतः जुन भूगोलका मानिसहरूसंँग कुरा गरिन्छ ती मानिसहरूको भाषाको बारेमा जानकार हुनु पर्छ भन्ने सन्देश बुझाइमा अर्थ र अनर्थ भन्ने शीर्षकको लेखमार्फत् आम पाठकलाई दिन लेखक सफल भएका छन् ।

हाम्रो समाजमा चलेको विश्वासले पनि कतिपय अवस्थामा समस्या ल्याउन सक्ने रहेछ भन्दै लेखकले एउटा प्रत्यक्ष रूपमा भोकेको कुरालाइ उदाहरणको रूपमा प्रस्तुत गरेका छन् । एक समय लेखक काठमाडांै जाँदाको यात्रामा दुई दाजुभाइ फरक फरक बसमा यात्रा गरेको प्रसङ्ग उल्लेख गर्दै दाजुभाइ एउटै सवारी साधनमा एकैपटक यात्रा नगर्ने भन्ने मान्यताका आधारमा दुई बसमा यात्रा गर्दाको झमेलालाई रमाइलो किसिमले प्रस्तुत गरेका छन् । यात्रा गर्दा भाइ बिना टिकट बसमा थिए भने दाजु अर्कै बसमा दुवै जनाको टिकटसहित । भाइ यात्रुले टिकट भनेको बेला कन्डक्टरलाई देखाउन नसक्दा पुनः भाडा तिर्नु पर्ने अवस्था आएको र बसका स्टाफहरू पनि कुरा नबझे झै गरी भाइ यात्रुसँग झगडा गरेको कुरा उजागर गरी गाडीका स्टाफबाट यात्रुले भोग्नु परेको समस्यालाई पनि त्यस क्षेत्रको कमजोरी या बेथितिको रूपमा चर्चा गरी यसलाई हटाउन आवश्यक रहेको कुरा दर्शाएको सङ्केत मिल्दछ ।

लेखकलाई लैंङ्गिक सवालले पनि चसकक्क छोएको छ, जुन कुरा उनको यो प्रकाशित कृतिमा पनि नराखी मन मानेको छैन । लेखकलाई हाम्रो समाजमा उठाइने कतिपय नारा र वास्तविकताका सम्बन्धमा चित्त बुझेको छैन । खासै महत्व नभएका सामान्य सवालहरूमा चको रूपमा नारा लाग्ने गरेको र गाँठी कुराहरूप्रति संवेदनशील हुन नसकेको र त्यस्तो प्रवृत्ति हावी हुँदै गएको वर्तमानको सत्य हो ।देखासिकी गर्दा समाज र देशको यथार्थ धरातललाइ बिर्सेर विदेशीहरूले दीतित गराएका कथित अभियन्ता भनाउँदाहरूबाट समेत जनमानस दिग्भ्रमित हुने गरेको छ । लैंगिक सवालमा जापान जस्तो विकसित देशमा पनि सम्राट जेठो सन्तान हुने संवैधानिक व्यवस्था भए पनि कानुनी व्यवस्था जेठो छोरा हुने व्यवस्था रहेको र त्यो व्यवस्थाका सम्बन्धमा हालसम्म पनि कहीँ कतै कुनै खालको कानुनी प्रश्न र विरोधी आवाज नउठने गरेको पाइनु विकसित समाजको नागरिक चेतनाको अवस्था हो । कुनै कुरालाई अधिकारको रूपमा उठाउँदा यसको सार विषयवस्तु उठाउनु पर्ने र बाहिरी पक्षलाई महत्व नदिन लेखकले आसय व्यक्त गरेको आभास मलाई यो पाठ पढ्दा भयो ।

हाम्रो समाजमा परिवारका सदस्यबीच होस् या सम्बन्धितको बीचमा होस् उनीहरूलाई सम्बोधन गर्ने निश्चित शव्दहरू हाम्रो भाषामा प्रचलनमा छन् । यिनै शब्दहरूले गर्दा सम्बोधन गर्ने व्यक्ति तथा सम्बोधित व्यक्ति दुवै जना अलमलमा पर्नु पर्दैन । अङग्रेजी भाषामा जस्तै एउटै शव्दले एकभन्दा बढी नाताहरूलाई सम्बोधन गर्नुपर्ने जस्तो अवस्था हाम्रोमा छैन । तर पनि पश्चिमा सभ्यता वा भाषाको प्रभाव हो कि किन हो हिजो आज नेपाली समाजमा छोरा छोरीले बाबा भनेर सम्बोधन गर्ने शब्दलाई कतिपय श्रीमतीले आफ्नो श्रीमान्लाई बाबा, अझ कतिपयले त ड्याडी नै भनेर सम्बोधन गरेको सुन्न पाइन्छ । यसो गर्दा सम्बोधनमा अलमल मात्र नभई कतै गम्भीर भाषिक अपराध पनि गरेका त छैनौं ? हाम्रो समाज कता जाँदैछ? यदि एउटै शब्दले सबै नाता सम्बन्धलाई जनाउने भए किन फरक शब्दको उत्पत्ति र प्रयोग गरिदै आयो ? भाषा प्रयोगको सहजताको बाहनामा भाषिक अपभ्रंश पालिरहँदा भोलिको पुस्ताले नाता सम्बन्ध नै बिर्सने पो हुन् कि ? । यस बारेमा आफूले भोगेका प्रत्यक्ष प्रमाणहरू राख्दै लेखक बरालले खरो आपत्ति राखेको महसुस नाता सम्बोधनः अनुभव र अनुभूति भन्ने शीर्षकको लेख पढ्दा हुन्छ ।

हाम्रो संस्कृति पनि एकै रातमा तयार भएको संस्कृति होइन । संस्कार र संस्कृति निर्माण हुन धेरै समय खर्चिएको हुन्छ । समाजले आर्जन गरेको सम्पत्तिभनेको पनि यही संस्कार हो । हामीले समाजका त्यस्ता कतिपय मूल्यहरूलाई कुरीति वा अन्धविश्वासको नाममा लत्याएका छौं, छोड्दै आएका छौं । हामीले आफुभन्दा ठूलालाई सम्मान गर्ने, सानालाई माया गर्ने, सम्बोधन गर्दा आदरर्र्थी शब्दहरूले सम्बोधन गर्ने, सवैलाई उचित सम्मान गर्ने, कुराहरूदेखि लिएर कतिपय मान्यता पनि मानिआएका छौं । पानीमा देवताको बास हुन्छ भन्ने ठानेर पानीको स्रोत वरिपरि फोहोर नगर्ने, ठूलो ढुङ्गामा देवताको बास राख्ने, ठूलो रुखमा देवता राख्ने र संरक्षण गर्ने यस्तो थुप्रै मान्यताले मानिसलाई ‘वसुदैव कुटुम्बकम’्’ भन्ने सन्देश दिन्छ । यसले गर्दा पर्यावरणीय सुरक्षा भई प्राकृतिक सन्तुलन समेत कायम हुने हुँदा सबैलाई बाँच्न सहज हुने अवस्थाको सिर्जना हुन्छ ।यस्तो वैज्ञानिक यथार्थतालाई नबुझेर वैचारिक विचलनमा रहेको हाम्रो समाजलाई चोटिलो प्रहार गर्दै यात्राबाट सिकेका कुरामा भुटान जाँदाको अनुभवबाट त्यहाँ समेत यस खालका मान्यता रहेका र सहजताका साथ लिइएको प्रसङ्ग लेखकले उल्लेख गरेका छन् । सिकाइ जीवनको जुन सुकै समयमा पनि हुन्छ । जुनसुकै ठाउँमा पनि हुन्छ ।असल कुराको अनुकरण गर्ने नगर्ने भन्ने कुरा त सम्बन्धित व्यक्तिको स्वभावमा भर पर्ने कुरा मात्र हो ।

आज भोलि हाम्रो समाजमा देखिएको गैह्र जिम्मेवारीपन तथा नैतिकताको स्खलनले हाम्रा पुराना परम्परा अनुसार चलिआएका खानपान तथा रहनसहनका कुराहरू भुतुक्कै बिर्सेर मनलागी गर्दा आफैलाई हानी भएको छ । खेती गर्ने परम्परा, बालीनाली थन्क्याउने परम्परा, चाडपर्वको महत्व, चाडपर्व अनुसारका खानाका परिकार, उत्सव मनाउने परम्परा जस्ता विविध खालका चलनहरू हाम्रो संस्कार अनुसार चलेका थिए । यस्ता संस्कारहरू वैज्ञानिक र अनुभवमा आधारित पनि थिए ।

खाना खाँदा अपनाउनु पर्ने पद्धति आज पनि त्यत्तिकै वैज्ञानिक रहेछ ।यो वेला विश्वमा कोरोना महामारी फैलिरहेको बेला यो कुराको बोध झन टड्कारो भएर देखिएको छ ।कतिपय मानिसहरूले नैतिकता र जिम्मेवारी बिर्सेर अहिले तरकारी तथा फलफूलमा विषजन्य पदार्थ हालिदिँदा सबैका स्वास्थ्यमा समस्या आएको छ ।कतिपय ठाउँमा त बिहेवारीका कुरा समेत यही कारणले टरेको अवस्था पनि सुनिन आएको कुरा दर्शाउँदै खानपान र हाम्रो चलन शीर्षकको लेख माफर्त आम पाठकलाई खानपानमा हाम्रो चलनलाई नियमितता दिन सचेत गराएका छन् लेखक बरालले ।

मलाई थाहा भए अनुसार लेखक स्वयम् शाकाहारीका पक्षधर हुन् । उनका खानपान सम्बन्धमा केही नियम छन् जुन उनले जीवन पद्धतिका रूपमा अपनाएका छन् । यो पद्धतिमा हिड्न र जुन कुनै पनि परिस्थितिमा लागु गर्ने दृढता पनि उनमा छ । जागीरको सिलसिलामा कुनै पनि ठाउँ जाँदा विशेष गरी स्वागत सत्कारमा गरिएका कार्यक्रमलाई समेत अनावश्यक भड्किलो मानी नगर्न आग्रह गरिएका थुप्रै उदाहरण छन् । यस पुस्तकमा पनि उक्त बानीको छनक ‘बानी त कस्तो राम्रो’ भन्ने शीर्षकमा खुलाएर दिएका छन् । सबैजसो साथीहरू मांसाहारी भोजन र पेयमा रमाइ रहँदा आफू भने शुद्धशाकाहारी भोजनमा नै रमाउन अभ्यस्त भएका लेखकलाई अरुले ‘सरको बानी त साह्रै राम्रो रहेछ, भनेर भनिदिँदा मैले आफ्नो बानीको मूल्याङ्कन गरेको छैन तर शरीर र स्वास्थ्यलाई हानी हुने गरी खानु हुँदैन भन्नेमा सचेत छु भनेर दिएको अभिव्यक्तिले शाकाहारी बानी राम्रो ठान्ने तर आफूले त्यो नअपनाउनेहरूलाई चोटिलो प्रहार हो भन्ने लाग्छ ।नत्र किन बानी राम्रो भनी टिप्पणी गर्ने त? मानिस शाकाहारी प्राणी हो भनेर सिकाउने काइदा शीर्षकमा पनि लेखकले प्रसङ्गवश धेरै दृष्तान्त दिन लेखक सफल भएका छन् ।
लेखक बरालले यस सिकाइ र सहयोगमा सैद्धान्तिक पक्षका कुरा नभई आफैले प्रत्यक्ष व्यहोरेको भोगाइबाट भएको सिकाइलाई मिठो र सरल भाषामा अभिव्यक्त गरेका छन् ।

सबै शीर्षकहरूनै घोचिला र पेचिला रूपमा प्रस्तुत भएका छन् । निम्ता र निम्तालु शीर्षकमा उनले निम्तालाई वगीकरण गरेर निम्ता गर्नैपर्ने वर्गको निम्तोमा निम्तालु पनि जानैपर्ने । सबै निम्ताहरूमा उत्तिकै प्राथमिकताका साथ जानुपर्ने नभई कतिपय निम्तोमा बोलाए पनि नजाँदा निम्ता गर्ने मान्छेसमेत खुसी हुने अवस्था हुने र आफूलाई समय व्यवस्थापन गर्न पनि सहज हुने विविध दृष्टान्त प्रस्तुत गरेका छन् । आफू निम्तो मान्न जाँदा पाएको अनुभूतिको कुरा समेत लेखकले उल्लेख गरेर विवाहको व्यवस्थापनका नाममा अव्यवस्थापनका कुराहरू पनि उल्लेख गरेका छन् । एउटा निम्तोमा जान लेखकको छोराले समेत तिव्र इच्छा व्यक्त गरेकाले लिएर गएको तर त्यहाँ खानपानको व्यवस्था अपुरो रहेकाले बाहिर कतै होटलमा गएर खाना खाएको र बाल सुलभ जिज्ञासाले खाना छनोट गर्दा पनि चाउमिन खाएर विवाहको निम्तो मानेर फर्किएको घटना निकै रोचक छ ।हाम्रो समाजमा यस्ता अव्यवस्थाले कतिपय सामाजिक कार्यक्रम इज्यतिलो हुन नसकेका बग्रेल्ती उदाहरण भेटिन्छ ।

त्यस्तै,अनुभव र उपयोग शीर्षकको लेखमा लेखक बरालले निकै राम्रा अनुभव तथा उपयोगको कुरा उललेख गरेका छन् । चाहे त्यो २०५१ सालको मध्यावधि चुनाव गराउँदाको अनुभव होस्र चाहे विद्यालय निरीक्षणको लागि जाँदाको अनुभव होस् त्यसमा कतिपय व्यक्तिहरूले क्षमताभन्दा पनि उमेर हेरेर महत्व दिने गरेको प्रसङ्ग मार्मिक तवरमा उठाएर सिकाइ र अनुभव उमेरमा मात्र निर्धारित हुन्न, उसको ज्ञान र सिप सिक्ने क्षमतामा निर्भर रहन्छ भनेर प्रेरणा लिएको कुरा उल्लेख गरेका छन् । एकपटक प्रा.डा. तीर्थ खनियाले कक्षा ३ को सिकाइ उपलव्धि परीक्षण अध्ययन प्रतिवेदनको छलफलमा कास्की जिल्ला शिक्षा कार्यालयमा विद्यालय निरीक्षक हुँदा आफ्नो विचार राख्न नपाएको र एकजना स्रोतव्यक्तिले लेखकलाई नै लक्षित गरेर ओठ निचोर्दा दुध आउने विद्यालय निरीक्षकले शिक्षकलाई के सुझाव देलान् भनेर व्यङ्ग कसेको समेत उल्लेख गरेका छन् । यसबाट उनलाई अध्ययन र सिकाइका लागि प्रयास गर्नुपर्छ र सफल हुनुपर्छ भन्ने भावना अझै जागृत भएर आएको र त्यसले जीवनमा परिवर्तल ल्याउन सहयोग गरेको पनि हुनु पर्छ ।

लेखक विज्ञानको विद्यार्थी नभए पनि उनले आनुवंशिकतामा विज्ञानको एक परिपक्क विद्यार्थी तथा अध्येताको जस्तै गरी वैज्ञानिक सवालहरू प्रस्तुत गरेका छन् । पशुहरूमा उन्नत जातका नश्ल उत्पादन गर्ने काइदा र यसको वैज्ञानिक पक्षलाईक्रोमोजमको सङ्ख्या तथा बनोट समेतको आधारमा व्याख्या गरेका छन् । गाउँमा बाख्रा पालन गर्दा किन फरक गोठबाट बोका ल्याउनु पर्ने ? किन असल जातको ब्याड राख्नुपर्ने ? हाडनातामा किन जात राम्रो फष्टाउँदैन? भन्ने प्रशङ्ग पनि उठाएर पशु विज्ञको भनाइलाई समेत वस्तुगत विवेचनासहित आफ्नो विचार पस्केका छन् । हाम्रा पुर्खाहरूले बिहेवारी गर्दा अपनाउने गरेको प्रचलन निकै वैज्ञानिक र सान्दर्भिक भएको कुरा अभिव्यक्त गरेका छन् ।लेखकले । लेखकले यसको हानीकारक पक्षको बारेमा पनि दृष्टि पु¥र्याएका छन् ।

खेतीबालीमा पनि यो वर्णशङ्कर जातिको उत्पादनले केही क्रान्ति नै ल्याएको छ ।उत्पादन बढेको छ ।कतिपय स्वादिला जाति पनि निकालिएका छन् तर त्यो सँंगै स्थानीय रैथाने जातहरू उन्मूलन हुँदै गएका छन् । ती जाति हराउँदा तिनीहरूमा भएका विशेष गुण पनि नास हुँदै गएको छ । रोगसंग लड्ने क्षमता वर्णशंङ्कर जातिमा निकै कम हुने, बीउ उत्पादन गर्ने क्षमता पनि नहुने, बीउ नासिँदै गएर बीउको लागि कतै परराष्ट्रसँग भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।कतिपय जातिमा तत्व पनि हराउँदै गएको हुँदा स्थानीय जातको संरक्षण नगरी ह्वाह्र्वार्ती वर्णशङ्कर जाति भित्राउने प्रचलनले भोलि कतै खाद्य सङ्कट उत्पन्न हुने त हैन भनेर गम्भीर प्रश्न पनि उठाएका छन् । यो निकै भिन्दै खालको विषयवस्तुको जगमै पुगेर चुरो कुराको अध्ययन गरेर भन्न सकिने कुरा पनि यस लेखमा उल्लेख भएको छ ।

पच्चीस शीर्षकका विषयवस्तु सबैको विश्लेषण गर्दा धेरै नै स्थान लिने भएकाले मलाई अति नै मन छोएका शीर्षक मात्र छनोट गरी प्रस्तुत गर्ने प्रयास गरिएको हो । यस मध्ये लेखकले अन्तिम शीर्षकमा महत्वसाथ प्रस्तुत गरेका संस्कृतको वास्तविक महत्वको बारेमा केही संस्कृत श्लोकसहित प्रस्तुत गरेका छन् । देव भाषाको मान्यता पाएको यो भाषा कुनै जाति विशेषको भाषा पनि होइन । ज्ञानको भण्डार रहेको भाषा हो संस्कृत । जीवनका धेरै पक्षसंँग एकाकार भएर यो भाषा जोडिएको छ ।व्यक्तिको जन्मदेखि मृत्य पर्यन्तसम्म गरिने संस्कारका कुराहरू यसमा छन् । शास्त्रमा लेखिएका भविष्यवाणी हाम्रो समाजमा देखिँदै भोग्दै आएका पनि छौं । दैनिक तथा व्यावहारिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरू र निर्देशनसहित उपदेशका रूपमा प्रस्तुत गरिएका संस्कृतका श्लोकहरूलाई याद मात्र गरेर पुग्दैन त्यसलाई जीवनको अभिन्न अङ्गका रूपमा अपनाउनु पर्छ । यही खालको सन्देश लेखकले दिन सफल भएको महसुस मैले गरेँ।

सारमा भन्नु पर्दा लेखकले यो पुस्तकमा भोगेको भोगाइ आम मानिसको भोगाइ हो भन्ने लाग्छ । पुस्तक पढिरहँदा आफूलाई पनि जीवनको कुनै क्षणमा परेको घटनाको पुनरावत्ति पनि हुन्छ ।सैद्धान्तिक कुरा लिएर व्याख्या विश्लेषणभन्दा यसरी भोगेको आधारमा व्यक्त गरिएका विचारहरू मन छुने खालका हुने रहेछन् । सिकाइ पनि त्यस्तै व्यावहारिक पक्षबाट हुने हुँदा जीवनमा शिक्षा लिन जसले सके ती व्यक्ति महान् पनि बने, जसले भोगे मात्र तिनले पटक पटक भोगे तर सिकेनन् । भोगाइ कति लामो रह्यो भन्नुभन्दा पनि भोगाइबाटकस्तो शिक्षा कस्तो लिइयो र कति लिइयो भन्ने कुरा महत्वपूर्ण हो । त्यसैमा जीवनको सार्थकता भर पर्ने हुन्छ ।

मलाई लाग्छ, लेखक खगराज बरालले भोगाइबाट बढी नै सिकाइ गरेका छन् र त्यसलाई लागू पनि गरेका छन् । यो पुस्तकमा लेखिएका सबै शीर्षकका विषयवस्तुहरू उत्तिकै मर्मस्पर्शी र शिक्षाप्रद छन् । पुस्तक जुनसुकै उमेर समूहका पाठकका लागि पनि बोधगम्य छ, पठनीय छ, सम्प्रेषणीय छ । हरेक घर, विद्यालय, पुस्तकालयका लागि सङ्ग्रहणीय छ । यो सिकाइ र सहयोग पुस्तक आफैमा पूर्ण छ जुन लेखकले अन्तिममा उद्दरण गरेको वेद मन्त्र
“ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णमुदच्यते ।पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥” जस्तै छ । अस्तु ।

Comments
Loading...