अफगानिस्तानका उपराष्ट्रपतिमाथि बम हमला, १० जना मारिए

एजेन्सी

अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरी बुधबार बिहान काबुलमा बम हमला भएको छ । घटनामा उनी सुरक्षित रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

विस्फोटमा परेर हालसम्म १० जना सर्वसाधरणको मृत्यु भएको छ भने १५ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ ।सहरी क्षेत्रमा कुनै कारवाही नगर्ने अमेरिकासँग सहमति गरेको तालिवानले घटनामा आफू जिम्मेवार नभएको बताएको छ ।

विस्फोटपछि फेसबुकमा भिडियो पोष्ट गर्दै देब्रे हातमा पट्टी बाँधेका सालेहले कार्यालय जाने क्रममा आफ्नो कारकेडमाथि आक्रमण भएको जानकारी दिएका थिए ।

‘म ठीकै छु तर मेरा सुरक्षाकर्मी घाइते भएका छन् । मसँग मेरो छोरा पनि कारमा थियो, उनी पनि सुरक्षित छन् । मेरो हात र अनुहार केही जलेको छ । निकै शक्तिशाली विस्फोट थियो,’ उनले भने ।

Comments
Loading...