९६ वर्षीया वृद्धालाई कोरोना लागेको थाहै दिइएन, तर उनी निको भइन्

काठमाडौँ,२७ भदौ । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्।

ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्।
‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने, ‘त्यसले अरू जटिलता थपिन सक्थ्यो।’ यद्यपि, ती हजुरआमा घरका सदस्यलाई भनिरहन्छिन्, ‘मास्क लगाऊ, नत्र को¥यो (कोरोना) हुन्छ।’

उनी कोरोनालाई को¥यो भन्छिन्। कोरोना लागेपछि के हुन्छ भन्ने पत्तो छैन। न अहिले देखिएको त्रासकै बारेमा उनलाई जानकारी छ।

सुरुमा एक जना नातिमा कोरोना देखिएपछि ती हजुरआमासँगै बुहारी पनि संक्रमणमा परिन्। तर, कुनै लक्षण देखिएन। ‘हजुरआमा कुनै लक्षण नै नदेखिई कोरोना संक्रमणमुक्त हुनुभयो’, नातिले भने। ती वृद्धाको स्याहारसुसार बुहारीले गरिन्। बुहारी पनि कोरोना पोजिटिभ नै थिइन्। छोराले पकाएर खुवाए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा बुटबलबाट लक्ष्मण पोखरेलले लेखेका छन्।

Comments
Loading...