गण्डकी प्रदेश भलिबल संघको महासचिवमा पूर्व राष्ट्रिय खेलाडी लम्सालको उम्मेदवारी

हिमाली आवाज । गण्डकी प्रदेश भलिबल संघको आसन्न अधिवेशनमा महासचिव पदका लागि पूर्व राष्ट्रिय भलिबल खेलाडी लेखनाथ लम्सालले उम्मेदवारी घोषणा गर्नुभएको छ।

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन यही असोज १५ गते पोखरामा हुने तय भएको छ। अधिवेशनको मिति घोषणा भएसँगै महासचिव पदमा लम्सालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक निवासी पूर्व राष्ट्रिय भलिबल खेलाडीसमेत रहनुभएका लम्सालले गण्डकी प्रदेशमा भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगितात्मक गतिविधिलाई थप व्यवस्थित बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।

लम्सालले यसअघि गण्डकी प्रदेश भलिबल संघको कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ। खेलाडीका रूपमा राष्ट्रियस्तरमा भलिबल खेल्नुभएका उहाँले खेल क्षेत्रको अनुभवलाई संघको संगठनात्मक जिम्मेवारीसँग जोडेर अघि बढाउने बताउनुभएको छ।
गण्डकी प्रदेशमा भलिबलको राम्रो सम्भावना रहे पनि महिला तथा पुरुष खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेलाडीलाई आवश्यक अवसर उपलब्ध गराउने विषयमा थप काम गर्नुपर्ने उहाँको भनाइ छ।

लम्सालले प्रदेशका ११ वटै जिल्लामा भलिबल गतिविधिलाई प्रभावकारी रूपमा विस्तार गर्दै स्थानीय तहदेखि प्रदेश र राष्ट्रियस्तरसम्म प्रतिभावान् खेलाडी पहिचान तथा विकास गर्ने योजनालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।

उहाँले खेलाडी, प्रशिक्षक, जिल्ला संघ तथा सरोकारवालाबीच प्रभावकारी समन्वय कायम गर्दै गण्डकीको भलिबललाई थप व्यवस्थित र परिणाममुखी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आसन्न अधिवेशनले १५ सदस्यीय गण्डकी प्रदेश भलिबल संघको नयाँ कार्यसमिति चयन गर्नेछ ।

Comments
Loading...