हिमाली आवाज । नेपाली कांग्रेसको आसन्न क्षेत्रीय अधिवेशनअन्तर्गत कास्की प्रतिनिधिसभा क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमिति सदस्य (युवा खुला) पदमा ई. राजन लम्सालले उम्मेदवारी घोषणा गर्नुभएको छ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक निवासी लम्सालले उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसलाई समयको आवश्यकता र प्रविधिको विकाससँगै अझ व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री तथा युवामैत्री संगठनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले संगठनका सदस्य तथा कार्यकर्ताको अभिलेख व्यवस्थापन, सूचना तथा कार्यक्रमको छिटो सम्प्रेषण, बैठक तथा निर्णयको व्यवस्थित अभिलेखीकरण, वडा र क्षेत्रबीच प्रभावकारी डिजिटल समन्वय तथा सुझाव र गुनासो संकलनका लागि सहज प्रणाली विकासलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।

त्यसैगरी, युवा सहभागिता र नयाँ नेतृत्व विकास, कार्यकर्ता तथा नेतृत्वबीच नियमित संवाद, संगठनात्मक पारदर्शिता, वडा तहसम्म प्रभावकारी समन्वय तथा स्थानीय मुद्दामा सक्रिय पहललाई आफ्नो कार्यदिशाका महत्वपूर्ण विषय बनाउने उहाँले बताउनुभएको छ।
‘पद मेरा लागि केवल जिम्मेवारीको नाम होइन, संगठनभित्र काम गर्ने अवसर हो,’ उम्मेदवारी घोषणा गर्दै लम्सालले भन्नुभएको छ, ‘अग्रजहरूको अनुभव, युवाको ऊर्जा र आधुनिक प्रविधिलाई जोड्दै संगठनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने मेरो उद्देश्य हो।’
लम्सालले आफ्नो उम्मेदवारीप्रति अग्रज नेतृत्व, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूबाट सल्लाह, साथ, विश्वास र शुभेच्छाको अपेक्षा गर्नुभएको छ।
