व्यूटीपार्लर खोल्नुपर्ने माग सहित ज्ञापनपत्र

पोखरा, ७ असोज । व्यूटीपार्लर खोल्नुपर्ने माग गर्दै व्यूटीसियनहरुले देशभरका सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले देशका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय सहित स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको हो ।

युनियन अध्यक्ष सुमन गुरुङले लामो समयसम्म लकडाउन तथा बन्दाबन्दीसँगै सौन्दर्यक्षेत्रमा कार्यरत् स्वरोजगार श्रमिकहरु ठूलो मारमा परेको भन्दै व्यूटीपार्लर खोलेर सेवा संचालनको अनुमति दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिइन् ।

युनियन संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सांसद मीना गुरुङले कोरोनाले हातमा सीप बोकेका सयौं महिला दिदीबहिनीहरुको रोजीरोटी गुम्केको भन्दै यही पेसामै टिकाइराख्न र विस्थापित हुन नदिन सरकारले विशेष सम्बोधन गरिनुपर्ने बताइन् ।

युनियन महासचिव पवी गुरुङले कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आफूहरुले पनि सेवा संचालन गर्न पाउनुपर्नेमा जोड दिइन् ।

यसैबीच, युनियनले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बुधबार ज्ञापनपत्र बुझायो ।

प्रजिअ ढकाललाई युनियन गण्डकी प्रदेशतर्फबाट अध्यक्ष नूर गुरुङ र मेयर जिसीलाई युनियन पोखरा महानगरपालिका कमिटी अध्यक्ष गंगादेवी गुरुङ पुनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा युनियन अध्यक्ष सुमन गुरुङ, महासचिव पवी गुरुङ, प्रदेश इञ्चार्ज संगीता पाण्डे, प्रदेश उपाध्यक्ष मोहनकुमारी राई, सचिव लक्ष्मी पौडेल, महानगर कमिटी सचिव चन्द्रा ठकुरी, सदस्य लेखुमाया राना लगायत उपस्थित थिए ।

युनियनअन्तर्गत देशभर करिब ५ हजार र पोखरा महानगरभित्र करिब ४ सय जना सौन्दर्यकर्मी आवद्ध छन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण गत ११ देखि सरकारले अन्य सेवा संचालन छुट दिए पनि व्यूटीपार्लर बन्द गर्दैआएको छ ।

Comments
Loading...