सर्पले डसेका बालकको उपचारमा रु दुई लाख ३२ हजार सहयोग

हिमाली आवाज । मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय विशाल पौडेलको उपचारमा आज रु दुई लाख ३२ हजार ७२ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सर्पको डसाइबाट गम्भिर बिरामी भएर हाल काठमाडौँमा उपचाररत पौडेलको उपचारमा सहयोग गर्न मादी–४ घर भइ हाल जापानमा रहेका मीन पाण्डे क्षेत्री र सङ्गीता पौडेलले जापानमा सहयोग सङ्कलन गरेका थिए ।

उनीहरुले जापानबाट पठाएको सो रकम मादी–४ का वडाध्यक्ष सत्यराज सापकोटा, तथा पाण्डेका आमा देवी पाण्डेले विशाल पौडेल बचाउ अभियानका संयोजक रवि क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष सापकोटाले आर्थिक अभावमा कोही कसैलेपनि ज्यान गुमाउने अवस्था आउन नहुने बताउँदै बिरामी बालकको उपचारमा देश विदेशबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गरे । मादी–६ का वडाध्यक्ष पसबहादुर बास्तोलाले आपत् विपत् तथा दुःखमा सहयोग गर्ने सबैको सहयोगी भावना हुनुपर्ने बताउँदै यस पवित्र महान् अभियानमा सबैको योगदान रहेको चर्चा गरे ।

बिरामीका दाजु विजय पौडेलले भाईको स्वास्थ्यमा विस्तारै सुधार हुँदै गएको जानकारी दिँदै हातखुट्टा, टाउको तथा शरीर चलाउन शुरु गरेको जानकारी दिए । उनले अझै कति दिन अस्पतालमा बस्नुपर्ने तथा कति खर्च लाग्छ भन्ने एकिन नभएको बताए ।

अभियन्ता एवं समाजसेवी दुर्गाप्रसाद गुरुङले बालकको उपचारमा आर्थिक रुपमा समस्या पर्न नदिने बताउँदै सहयोग संकलनलाई व्यवस्थित रुपमा अघि बढाइने बताए । अभियानका संयोजक रवि क्षेत्रीले हालसम्म समितिलाई प्राप्त सहयोग रकम मध्य रु तीन लाख ५० हजार तथा अन्य व्यक्ति तथा संस्थाबाट सिधै परिवारलार्ई रु तीन लाख गरी छ लाख ५० हजार उपलव्ध गराइएको जानकारी दिए ।

आगामी असोज २४ गतेसम्म सहयोग सङ्कलन अभियान जारी रहने बताउँदै उनले समितिको खातामा हाल रु छ लाख ५० हजार मौज्दात रहेको बताए । कार्यक्रममा अभियानका सहसंयोजक विकास क्षेत्री,मीन पाण्डेका भिनाजु मीन श्रेष्ठले सबै सहयोगी मनहरुप्रति आभार व्यक्त गरे ।

Comments
Loading...