तनहुँको व्यास नगरपालिकालाई रोटरी क्लबको पीसीआर मेशिन

हिमाली आवाज ।गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा व्यवसायिक शिक्षाको विकासका लागि रोटरी क्लबले योगदान दिन सक्ने बताएका छन् ।

रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान रिजन ४ ले आयोजना गरेको विद्युतीय सिकाइ सहयोगी सामग्री तथा पीसीआर मेशिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले साक्षरता वृद्धिका लागि रोटरीले थालेको प्रयास सराहनीय रहेको बताए ।

नेपालमा साक्षरता बढाउन रोटरीले सामुदायिक विद्यालयलक्षित गरी ल्याएका कार्यक्रम प्रशंसनीय रहेको भन्दै उनले साक्षरता अभियानका सन्दर्भमा व्यवसायिक शिक्षाका लागि रोटरी क्लबको योगदान रहन सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

भर्चुअल माध्यमबाट सहभागी भएका रोटरी क्लब इन्टरनेशनलका इलेक्ट. प्रेसिडेन्ट शेखर मेहताले निरक्षरता उन्मूलनका लागि नेपालले धेरै काम गर्न सक्ने भन्दै त्यसमा रोटरी अन्तर्राष्ट्रियले सहयोग गर्ने उल्लेख गरे ।

रोटरी क्लब इन्टरनेशनल ३२९२ रिजन ४ का अध्यक्ष किरणलाल श्रेष्ठले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षर बनाउने अभियानमा रोटरी क्लबले विभिन्न विद्यालयहरूसँग सहकार्य गरिरहेको जानकारी दिए ।

रिजन ४ का विद्युतीय सिकाइ संयोजक पुरन कुँवरले रिजन ४ अन्तर्गतका हाल ३६ विद्यालयसँग रोटरी क्लबले विद्युतीय सिकाइका लागि सहकार्य गरेको बताए । कोभिड–१९ को महामारीका बेला विद्युतीय सिकाइ प्रभावकारी हुने कुँवरले उल्लेख गरे ।

सो अवसरमा रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का अध्यक्ष तीर्थमान शाक्य, रोटरी क्लब हैदरावाद डेकानका एजी पीपी उदय पिलानी, रिजन ४ का उपाध्यक्ष केशव आचार्य, सचिव बाबुराम बराल लगायतले बोलेका थिए ।

भर्चुअल तथा भौतिक उपस्थितिका बीच भएको कार्यक्रममा तनहुँको व्यास नगरपालिकाका लागि एक थान पीसीआर मेशिन हस्तान्तरण गरिएको थियो । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सो पीसीआर मेशिन नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।

त्यस्तै, विभिन्न विद्यालयलाई रिजन ४ अन्तर्गतका १२ रोटरी क्लबका तर्फबाट विद्युतीय सिकाइ सहयोगी सामग्री हस्तान्तरण समेत गरिएको थियो ।

 

Comments
Loading...