नेकपा गण्डकीका सबै सांसदको दशैँ भत्ता कोरोना कोषमा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सबै सदस्यले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।
दलको बैठकले चाडपर्व भत्ता कोरोना महामारी नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम,नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । प्रदेशभामा नेकपाका ४० सदस्य छन् ।
त्यसैगरी आजको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री सहित सातै जना मन्त्रीको भत्ता सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोनाको तीव्र सङ्क्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्री सहित सबै मन्त्रीहरुले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नुभएकामा हालै दशैँ खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

“विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा क्रिया प्रतिक्रिया आएकामा प्रदेश सरकार प्रदेशवासीलाई सामाजिक सञ्जालमा आएका कुुरामा विश्वास नगर्न आग्रह गर्र्दै यसअघि जेजस्ता कार्य गर्दै आएको थियो त्यसलाई निरन्तरता दिने निर्णय गरिएको छ ।”मन्त्री बस्नेतले भन्नुभयो ।
सरकारले नेपालीहरुका चाडपर्वहरु दशैँ, दीपावली, नेपाल सम्वत्, छठ लगायतका पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न प्रदेशवासीमा आग्रह गरेको छ ।

Comments
Loading...