दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

काठमाडौँ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् ।बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ ।

महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ ।दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उहाँले भन्नुभयो।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ ।चण्डीको आठौंँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने धर्मशास्त्रविद् प्रा डा गौतम बताउँछन् ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उहाँले भन्नुभयो ।
यी तीन शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ ।कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

Comments
Loading...