स्थानीयले आयोजनाको निर्माणमा सहयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले जलविद्युत आयोजनाको निर्माणमा स्थानीयबाट कुनै पनि किसिमको अवरोध हुन नहुने बताउनुभएको छ ।

भिजन लुम्विनी उर्जा कम्पनीबाट कास्कीको माछापुच्छ«े गाउपालिका–२ भराभरीमा निर्माणधिन २५ मेगावाट क्षमताको सेतीनदी जलविद्युत आयोजनाको आज स्थलगत अवलोकन गर्दै उहाँले आयोजना निर्माणमा अवरोध गर्नु विकासको बाधक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘कुनै ठाउँमा जलविद्युत सम्बन्धी आयोजना बनाउँदा प्रवद्र्धक कम्पनीले बाटो बनाउनेदेखि विद्यालय चलाउनेसम्मको काम गरिदिनुपर्ने पर्ने माग राख्नु गलत हो । स्थानीयले यस्ता विषयमा अवरोध नगरी आयोजनाको निर्माण कार्यमा सहयोग गर्नुपर्छ,स्थानीय तहमा आवश्यक पुर्वाधार निर्माण गर्ने काम सरकारले नै गर्छ ।’

मुख्यमन्त्री गुरूङले जलविद्युत सम्बन्धी नीति बनाएर संघ, प्रदेश र स्थानीय सरकारको दायित्व र अधिकार सुनिश्चत गर्नुपर्ने बताउनुभयो । पाँच मेगावाटसम्म आयोजनालाई स्थानीय तह र पाँच मेगावाटदेखि २५ मेगावाटसम्म आयोजनालाई प्रदेश सरकार मातहत ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री गुरुङले गण्डकीमा निर्माणाधीन यस आयोजनालाई आवश्यक पर्ने सुरक्षा लगायत सबै प्रकारको व्यवस्था प्रदेश सरकारले गर्ने स्पष्ट पार्नुभयो ।

आयोजनाको प्रवद्र्धक भिजन लुम्विनी उर्जा कम्पनी प्रालिका अध्यक्ष जगत बहादुर पोखरेलले तोकिएको लागत भन्दा पनि कम लागतमा आयोजनाको निर्माण सम्पन्न गर्र्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“यस आयोजनामा रु पाँच अर्व लगानी लाग्ने अनुमान थियो । तर, त्यो भन्दा कम लागतमा आयोजना निर्माण हुने आधारहरु देखिएका छन् ।”

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीमा समेत आयोजनाको काम नरोकिएको उहाँको भनाई छ । परियोजना प्रवन्धक इन्जीनियर लेखनाथ पाण्डेले तोकिएको समयमा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने बताउँदै हालसम्म ११ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।
आयोजनामा कूल लगानी मध्ये रु तीन अर्व ५० करोड एनएमबी बैंङ्कको नेतृत्वमा विभिन्न बैँङ्क वित्तिय संस्थाबाट तथा बाँकी रु एक अर्व ५० करोड प्रवद्र्धक मार्फत स्वपूँजीको रुपमा जुटाइने कम्पनीले जनाएको छ । सो आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।यसका लागि कम्पनीले यसअघि नै प्राधिकरणसँग विद्युत खरीद बिक्री सम्झौता पनि गरिसकेको छ ।

यस्तै, कम्पनीले आजनै पत्रकारहरुलाई जलविद्युत पत्रकारिता सम्बन्धी अभिमुखीकरण पनि गरेको छ ।सातै प्रदेशका ३० भन्दा बढी पत्रकारको उपस्थितिमा कम्पनीले अभिमुखीकरण कार्यक्रम गरेको हो । सो कार्यक्रमलाई आर्थिक पत्रकार समाजका अध्यक्ष भीम गौतमले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणको उद्घाटन सत्रमा माछापुच्छ्रे गाउँपालिका वडा नं २ का वडाध्यक्ष विक्रम गुरुङले जलविद्युतको विकासमार्फत देशको समृद्धि हासिल हुने भएकाले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्र्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलविद्युत पत्रकारिताका माध्यमबाट यस क्षेत्रको विकासमा सञ्चारकर्मीले योगदान गर्नुपर्ने बताउनुभयो ।

Comments
Loading...