हिमाली आवाज । चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो ।। लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ हुदैछ । भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जनेछ ।
सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमबारे जानकारी गराउदै आयोजकले शुक्लागण्डकीको भूमीमा ऐतिहासिक सांगीतिक क्षण बन्ने दाबी गरेको छ । सो अवसरमा प्रचारप्रसारका लागि ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ कार्यक्रमको टिसर्ट सार्वजनिक गरियो ।
लायन्स इन्टरनेशनलको ‘पढाउ’ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले सांगतिक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ ले बताए । विकका अनुसार, ‘कन्सर्टमा १० हजार बढी संगीतप्रेमीहरु झुम्नेछन्, नेपथ्य को स्वरमा स्वर मिसाउदैं छमछमी नाच्नेछन् ।’ एक करोड रुपैयाँ बराबरको कारोबार हुने उनले जानकारी दिए । ‘बचत रकम लायन्स क्लब इन्टरनेशनल ३२५ एमको मूल मन्त्र ‘पढाउ’ अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रको विकासमा खर्च गरिनेछ’, उनले भने ।

बचत रकमले विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोसाक वितरण गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ । ‘हामी संगीतको माध्यमबाट विद्यार्थी तथा युवापुस्तालाई सकारात्मक र सिर्जनात्मक गतिविधिसँग जोड्न चाहान्छौं’, कार्यक्रम संयोजक विकले भने, ‘ संगीतको धुनमार्फत सामाजिक एकता र सद्भावलाई प्रवद्र्धन गर्ने, शुक्लागण्डकीलाई सांगीतिक गन्तव्यको रूपमा स्थापित गर्नेछौं ।’ स्थानीय व्यवसाय, पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने तथा लायन्स क्लबको सामाजिक सेवामुखी अभियानलाई थप प्रभावकारी बनाउने उदेश्य राखिएको उनले बताए ।
संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई जोड्ने, सकारात्मक सन्देश प्रवाह गर्ने र सामाजिक अभियानलाई उकास्ने एक प्रभावकारी माध्यम भएको उनले सुनाए । त्यही माध्यमले तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पाल्पा र आसपासका तमाम संगीतप्रेमी, विद्यार्थी, युवा, व्यवसायी, उद्यमी, पेसाकर्मी तथा सर्वसाधारणलाई एउटै सांगीतिक मञ्चमा जोड्ने संयोजक विकले दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले कार्यक्रमले संगीतप्रेमीको मन जोड्न भूमिका खेल्ने बताए । ‘स्थानीय तहको हैसियतमा गर्नूपर्ने सहयोग गर्नेछौं । अहिलेका युवासँग संगीतमा मात्रै होइन विकास निर्माणमा पनि हातेमालो गरेर अगाडि बढ्नेछौं’, उनको भनाइ थियो । युवाहरु नविन सोंचका साथ अगाडि बढिरहेको उनले बताए ।
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले कार्यक्रम आयोजनापूर्व नै बचत रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उद्घोषले सकरात्मक सन्देश प्रवाह गरेको बताए ।म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संगीत क्षेत्रका अग्रज र उदयमानलाई कार्यक्रमले उत्साह थप्ने बताए ।
लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले आफूहरुले ऐतिहासिक क्षणको तारतम्य मिलाउने प्रयास मात्रै गरेको बताए । ‘अब यो कार्यक्रमलाई अझ धेरै ऐतिहासिक र भव्य तरिकाले सम्पन्न गराउने जिम्मेवारी तपाईंहरुलाई नै सुम्पिएका छौं’, उनले भने, ‘हामीलाई आशा छ, जसरी आज यहाँहरुले उत्साहपूर्ण साथ दिनुभएको छ त्यसरी नै कार्यक्रम सम्पन्नपश्चात पनि साथ पाउनेछौं ।’ आगामी बर्षहरुमा पनि यस्तै ऐतिहासिक क्षणको साक्षी बस्ने वातावरण मिलाउने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, क्लबका सचिव सुरेश पौडेल, प्रचारप्रसार संयोजक शंकर पन्त लगायतले बोलेका थिए ।
