हिमाली आवाज । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), कास्कीको आयोजनामा पोखरामा सञ्चालन भएको छैठौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता–२०८३ को उपाधि एक्यान बाँकेले जितेको छ ।
प्रतियोगितामा एक्यान बाँकेले उपाधिसहित रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सेन्ट्रल एघार उपविजेता बन्दै रु. एक लाख तथा आरबीपी मेमोरियल चितवन तृतीय हुँद्र रु ५० हजार नगद पुरस्कार प्राप्त गर्न सफल भए।
व्यक्तिगत विधातर्फ बाँकेका तुलसी काफ्लेले उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गर्दै रु. सात हजार ५०० नगद तथा अन्नपूर्ण केबलकारको टिकट प्राप्त गर्नुभयो। आरबीपी मेमोरियल चितवनका गौरव अधिकारी सर्वाधिक गोलकर्ता घोषित हुँदै रु. सात हजार ५०० नगद तथा अन्नपूर्ण केबलकारको टिकट प्राप्त गर्नुभयो।
त्यस्तै सेन्ट्रल एघारका स्वस्तिक कर्माचार्य प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै रु. १० हजार नगद तथा द क्लिफको बन्जी वा स्विङको टिकट प्राप्त गर्नुभयो।
पोखरामा सम्पन्न प्रतियोगितामा देशका विभिन्न स्थानबाट चार्टर्ड एकाउन्टेन्ट सम्मिलित १७ टोलीको सहभागिता रहेको थियो।खेलकुदमार्फत देशभरका चार्टर्ड एकाउन्टेन्टबीच आपसी सद्भाव, मित्रता, सहकार्य, सञ्जाल विस्तार तथा पेशागत सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले पोखराको पर्यटन, आतिथ्य तथा खेलकुद संस्कृतिको प्रवद्र्धनमा समेत योगदान पु¥याएको बताइन्छ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले राष्ट्रियस्तरका यस्ता कार्यक्रमले चार्टर्ड एकाउन्टेन्टबीचको सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभएको थियो।
प्रतियोगिताका संयोजक सिए अनिल लामिछानेले प्रतियोगिताको तयारी, उद्देश्य तथा सञ्चालनसम्बन्धी जानकारी गराउँदै फुटसललाई खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नराखी देशभरका चार्टर्ड एकाउन्टेन्टलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभएको थियो।
उद्घाटन समारोहपछि प्रमुख आचार्यले प्रतियोगिताको बल निर्णायकलाई हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुआत गर्नुभएको थियो।
बाढीपीडित चार्टर्ड एकाउन्टेन्टलाई सहयोग
प्रतियोगितालाई खेलकुदसँगै मानवीय उत्तरदायित्वसँग जोड्दै हालैको बाढीबाट प्रभावित आफ्नै पेशागत समूहका एक सदस्यलाई सहयोग गर्ने निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार विजेता हुने प्रत्येक टोलीले प्राप्त गर्ने पुरस्कारको २५ प्रतिशत रकम तथा प्रतियोगिताबाट बचत हुने रकमसमेत प्रभावित सदस्यलाई सहयोग गरिनेछ। खेलकुदबाट प्राप्त उपलब्धिको खुसी कठिन परिस्थितिमा रहेका आफ्नै पेशागत समूहका सदस्यसँग बाँड्ने उद्देश्यले उक्त पहल गरिएको हो।
प्रतियोगिताका खेलहरू प्रत्यक्ष प्रसारणमार्फत देशभरका चार्टर्ड एकाउन्टेन्ट, समर्थक तथा खेलप्रेमीमाझ पु¥याइएको थियो।समापन समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (एक्यान) का अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट आनन्दराज शर्मा वाग्ले र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एसीएएन) का सभापति चार्टर्ड एकाउन्टेन्ट अनुप नेपालले विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार तथा उपहार वितरण गर्नुभएको थियो।
समापन समारोहका सभाध्यक्ष तथा एसीएएन कास्की जिल्ला कार्यसमितिका अध्यक्ष दीपक भुर्तेलले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगी संस्था, सहभागी टोली, खेलाडी, अतिथि, सञ्चारकर्मी, स्वयंसेवक, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
