पहिराले अवरुद्न नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पाेखरा आउने सवारी चल्न थाले

हिमाली आवाज । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् ।  ्

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो । योसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् ।

यसैगरी लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउ भासिएको छ ।

बेनिघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ । कृष्णभीर माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सूचना अधिकारी मिश्रका अनुसार ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुङ्गासहितको साना पहिरा खसेको छ ।

Comments
Loading...