पूर्वाधार विकास कार्यक्रम: प्रत्यक्ष निर्वाचित सांसदलाई ७०, समानुपातिकलाई ३० प्रतिशत बजेट

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रत्यक्ष र समानुपातिक सांसदलाई भागबण्डा गरेको छ ।

गत वर्षदेखी प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएकामा यस वर्ष सांसदहरुले दामासाहीमा बजेट बाँडेर योजना छनोट गर्नेछन् ।

कूल बजेटको ३० प्रतिशत रकम समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यका लागि छुट्टाउनुपर्ने गरी यस वर्ष कार्यविधि संशोधन गरिएको छ ।गत वर्ष प्रत्यक्ष र समानुपातिकका सदस्यको समन्वयमा निर्वाचन क्षेत्रमा सो कार्यक्रम मार्फत रु दुई करोडका योजना सम्पन्न भएका थिए ।

त्यसैगरी चालू आवमा सो कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन र पर्यटनमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरी कार्यविधि संशोधन गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड–१९ को असर न्यूनीकरणका लागि कृषि, पशुपालन र पर्यटनका लगायतका उत्पादनमूलक तथा सेवामूलक आयोजनामा सो बराबरको रकम विनियोजन गर्नुपर्नेछ । पूर्वाधार कार्यक्रम अन्तर्गत रु २५ लाखका दुई सहित अधिकतम २५ वटासम्म योजना छनौट गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

साना आयोजना छनोट गर्दा रु एक लाखका तीनवटा र रु दुई लाखका पाँचवटामा नबढ्ने गरी छनोट गर्नुपर्नेछ । आयोजना नदी, गल्छी,बाढी तथा पहिरो नियन्त्रण तथा सिँचाईका योजना,सडक निर्माण तथा स्तरोन्नति,खानेपानी तथा सरसफाई तथा फोहोरमैला व्यवस्थापन,ऐतिहासिक, सांस्कृति तथा पूरातात्विकस्लको संरक्षण, दृश्यावलोकन स्थल निर्माण,कृषि उपज सङ्कलन केन्द्र निर्माण लगाउनुपर्नेछ ।

त्यसैगरी पशुपन्क्षी हाटबजार व्यवस्थापन तथा कृषि सम्वन्धी अन्य आयोजना,सामुदायिक विद्यालयको भौतिक पूर्वाधार,खेलकूद मैदान तथा पूर्वाधार निर्माण,लघु तथा घरेलू उद्यम विकासको पूर्वाधार लगायतका क्षेत्रमा केन्द्रित भएर योजना छनोट गर्नुपर्ने व्यवस्था छ ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई यस वर्ष कार्यक्रम कार्यान्वयनको लागि तोकिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।चालू आर्थिक वर्षका योजना कात्तिक मसान्तभित्र योजना छनोट गरिसक्नुपर्ने व्यवस्था छ । गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित ३६ र समानुपातिक २४ गरी ६० प्रदेशसभा सदस्य छन् ।

Comments
Loading...