चिसो मौसममा संक्रमण अझ बढ्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव

काठमाण्डौ । चिसो मौसममा कोरोना सङ्क्रमणदर अझ बढ्ने र बिरामीलाई बढी समस्या हुन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

कोरोना सङ्क्रमित हुने क्रम रहिरहँदा चिसो पनि बढ्न थालेकाले कोरोनाको जोखिमसँगै अरु विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ । विभिन्न देशमा गरिएको अध्ययनमा जाडो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको डाक्टर पुनले बताउनुभयो ।

जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने उहाँको भनाई छ । अहिले मौसमी फ्लुका बिरामी पनि भेटिन थालेका छन् । यस्तै रुघाखोकी लाग्ने, बालबालिकामा पखाला लाग्ने लगायतका स्वास्थ्य समस्या पनि देखिन थालिसकेको उहाँले बताउनुभयो । कोरोना र मौसमी फ्लुको लक्षण लगभग मिल्दोजुल्दो हुने भएकाले नआत्तिन तर सरसफाइ र सावधानी भने निरन्तर अपनाउन उहाँको आग्रह छ ।

अहिले कतिपय कोरोना सङ्क्रमण भएर उपचार गराइरहेका बिरामीमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या देखिएको उहाँले बताउनुभयो । यो समयमा बालबालिका, वृद्धवृद्धा तथा मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दमका रोगीलाई बढी सताउन सक्छ । दीर्घरोगीलाई झनै खतरा रहेको उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...