आठ महिनादेखि रोकिएको खेलकुद गतिविधि सुचारु गर्न अनुमति

काठमाडौँ । लामो समय कोरोनाका कारण बन्द खेलकूद गतिविधि सञ्चालन हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित खेल गतिविधि सुरु गर्न सरकारले अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले कोरोनाको कारण झन्डै आठ महिनायता रोकिएको खेल सुरु गर्न अनुमति दिएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताउनुभयो ।

बैठकले स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना हुने गरी राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय सहभागिताका लागि प्रशिक्षण लगायतका तयारीका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

सरकारले तोकेको मापदण्ड पुरा गरेर ओलम्पिक छनोटमा परेका खेलको प्रशिक्षणका साथै फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुन र मैत्रीपूर्ण खेल आयोजना गर्न सकिने सरकारले जनाएको छ ।

कोरोना कहरका कारण खेलकूद शहरको परिचय बनाएको पोखरामा समेत खेलगतिविधि पूर्णत बन्द छन् । रंगशाला बन्द हुँदा खेलाडीले अभ्यास गर्न पाएका छैनन् । पुनः खेलकूद गतिविधि सुचारु हुने खबरले खेलाडी उत्साहित भएका छन् ।

Comments
Loading...