पोखरा अन्तरराष्ट्रिय विमानस्थल : चारदशकअघिको सपना अब एक वर्षमा यसरी हुँदैछ पूरा

हरि बास्तोला÷कृष्ण दवाडी
गण्डकी । विसं २०३२ मैै पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको सपना देखेर जग्गा अधिग्रहण गर्ने काम शुरु गरिएको थियो ।पर्यटकीय शहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य शहरसँग सिधा सम्पर्क कायम गरी थप पर्यटन प्रवद्र्धनका लागि विमानस्थलको सपना चार दशकअघिको हो । तर यसबीचमा विभिन्न कारणले विमानस्थल बन्न सकेन ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भने विमानस्थल निर्माणले मूर्त रुप लिएर विसं २०७४ मा विमानस्थलको काम शुरु भएको हो ।पोखरेलीको सपनाले सार्थकता पाउन चार दशकभन्दा बढी समय लाग्यो । विसं २०७४ मा विमानस्थलको काम शुरुभएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परीणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आएपनि आयोजनाको काम भने निरन्तर अघि बढेको छ ।

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको लामो बन्दाबन्दीमा समेत विमानस्थलको काम रोकिने अवस्था आएन तर काममा भने प्रभाव प¥यो ।
निर्धारित मितिभन्दा छ महिना अगावै राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न नभएपनि तोकिएको मितिभित्रमै सम्पन्न्न गर्ने गरी अहिले धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

गत वर्षको अङ्ग्रेजी नयाँवर्षदेखीनै आयोजनाको काम प्रभावित हुँदा तोकिएको मितिभन्दा छ महिनाअघिनै आयोजना सम्पन्न हुने लक्ष्यमा बाधा उत्पन्न भएपछि अहिले निर्धारित समयभित्रै सक्ने गरी काम भइरहेको पोखरा विमानस्थल आयोजनाका परियोजना प्रवन्धक विनेश मुनंकर्मीले बताउनुभयो ।
आयोजनाको हालसम्म दुई तिहाई काम सकिएको छ । आयोजना सम्पन्न हुन एक वर्षभन्दा कम समय बाँकी रहँदा बाँकी ३३ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चूनौती छ । तर आयोजना प्रमुख मुनंकर्मी भने सिभिलतर्फका अधिकाँस काम सकिएकाले फिनिसिङका लागि समय नलाग्ने बताउनुहुन्छ ।
सीमा नाकाहरुमा रोकिएका आयोजनाका निर्माण सामग्री आउन शुरु भएको तथा विशेषज्ञ कामदार समेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गरेर भएपनि कामलाई तीव्रता दिने आयोजनाको तयारी छ ।

आयोजनाका विभिन्न भवनहरुमा जडान गरिने उपकरणले आयोजनाको थप २० देखी २५ प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेमा आयोजना विश्वस्त छ ।

आयोजना प्रमुख मुनंकर्मीले भन्नुभयो,“विशेष गरी उपकरण जडान र भवनहरुको फिनिसिङको काम बाँकी छ, उपकरण आइसकेको छ, विशेषज्ञ कामदार समेत आउन शुरु गरेकाले अब कामको प्रगति ह्वात्तै बढ्छ, हामी तोकिएको समयभित्रमा सम्पन्न गर्न प्रतिवद्ध छौँ।”

आयोजनाको बाँकी काम मध्येमा २० प्रतिशत उपकरण बाँकी १४ प्रतिशत सिभिलतर्फको रहेको जनाइएको छ । सिभिलतर्फ सबै १४ वटा भवनको संरचना निर्माणको काम सम्पन्न भएर डेकोरेशन र फिनिसिङको काम अहिले धमाधम भइरहेको छ ।

कामदार र निर्माण उपकरण आइसकेपछि दुबै काम सँगसैगै लैजान सकिने भएकाले समेत निर्धारित समयमै आयोेजना सम्पन्न हुने विश्वास आयोजनाको छ ।

विमानस्थलको निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएपछि पनि उडान सञ्चालनको आवश्यक प्रक्रिया र व्यवस्थापन मिलाउनका लागि न्यूनतम छ महिना थप समय लाग्ने मुनकर्मीले जानकारी दिनुभयो । अबको एक वर्षभित्रमा विमानस्थल सञ्चालनमा आएर उडान शुरु हुने बताइन्छ ।

आयोजनाले आगामी डिसेम्बर भित्रमा १२१ चिनियाँ कामदार आयोजना स्थलमा आइसक्ने जनाएको छ । १२१ कामदारले भीसा आवेदन गरेकामा पहिलो चरणमा ४९ जनाको स्वीकृत भएको र बाँकी ७२ जना प्रक्रियामा छन् ।

“आयोजनाका सामग्रीहरु आइरहेका छन् । अब चिनियाँ कामदार समयमै ल्याउन सकेको खण्डमा काम तीव्र रुपमा अघि बढ्छ र बाँकी अवधिमा सबै काम सम्पन्न गर्न सकिन्छ ।”आयोजना प्रमुख मुनंकर्मीले भन्नुभयो ।
डाँडा कटान मुख्य समस्या
विमानस्थलको काम सहज रुपमा अघि बढाउन अझै केही व्यवधानहरु हटेका भने छैनन् । कोरोनाका कारणले भीसा समस्याका कारण चीनियाँ कामदार परियोजनास्थलमा आउन सकेका छैनन् ।

यसैगरी विमानस्थलको दक्षिण पूर्वमा अवस्थित डाँडा कटान, आयोजनाका सामग्री सीमा नाकामै रोकिनु तथा वर्षायाम आउने सिँचाई नहर व्यवस्थापन अहिले आयोजनाको मुख्य समस्याका रुपमा खडा भएका छन् ।

निर्माणाधीन विमानस्थलको दक्षिण पूर्वमा अवस्थित बुढिबजारको डाँडा कटान गर्नुपर्ने भएको छ । आइकायोमा मापदण्ड अनुसार विमान उडान र अवतरणको सुरक्षाका लागि सो डाँडा ४० कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।

व्यक्तिगत जमिनमा व्यक्ति आँफैले कटान शुरु गरेपनि सरकारी वन क्षेत्र कटानका लागि आयोजनाले अहिले वातावरणीय प्रभाव मुल्याङ्क(इआइए) शुरु गरेको र अवको १५ दिनमा त्यसलाई सम्पन्न गरेर पर्यटन मन्त्रालयबाट वन मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि डाँडा कटानको काम शुरु हुने आयोजना प्रमुख मुनंकर्मीले जानकारी दिनुयो ।

उहाँले भन्नुभयो,“आइकायोको मापदण्ड अनुसार सुरक्षाका लागि ४० मिटर डाँडा कटान गर्नु आवश्यक छ । यसका लागि हामीले इआइए तयार गरेर मन्त्रालयमा पठाउँछौँ । मन्त्रिपरिद्बाट स्वीकृत हुने वित्तिकै कटानको काम शुरु हुन्छ ।”

विमानस्थलको अर्को समस्याका रुपमा उत्तर दक्षिण भएर बग्ने नहर समस्याका रुपमा देखिएको छ । हिउँदमा सो नहरले दुःख नदिएपनि वर्खायाममा नहरमा पानी भरिँदा रनवेसम्म आइपुग्छ । गत असारमा सोही नहरका कारण विजयपुरको तल्लो क्षेत्रमा क्षति पु¥याएको थियो ।

विमानस्थलको माथिल्लो क्षेत्रको सबै नहरको पानी मिसिदा नहर ठूलो भएर दुःख दिएकाले यसलाई विमानस्थलको प्रवेशद्धार नजिकको राजमार्गबाट सिधै विजयपुर खोलामा मिसाउने व्यवस्था गर्नका लागि प्रदेश सरकार तथा महानगरसँग आग्रह गरिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख मुनंकर्मीले भन्नुभयो,“नहरको समस्याका सम्वन्धमा मुख्यमन्त्री समक्ष रिर्पोट पेश गरेका छौँ, महानगर तथा सिँचाई विभागबाट समेत यसको विकल्प खोजी भएको छ । एयरपोर्टभित्र नआउने गरी राजमार्गबाटै नहरको पानी बाहिर व्यवस्थापन गर्न महानगर र प्रदेश सरकारलाई आग्रह गरेका छौँ ।”

समस्या समाधानका काम समेतसँगै अघि बढेकाले आयोजना तोकिएको मितिमा सम्पन्न गर्न व्यवधान नहुने विश्वास निर्माण कम्पनीको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाईन’ छ ।

आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘एयर साईड’ र ‘विल्डिङतर्फ’को अधिकाँस सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको र उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ ।

निर्माण कम्पनी चाइना सीएएमसी इन्जिीनियरिङले विसं २०७४ असारदेखी विमानस्थलको काम शुरु गरेको थियो । विमानस्थल निर्माणका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो ।

राष्ट्रको समृद्धिका लागि महत्वपूर्ण

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल गण्डकी प्रदेशका साथै समग्र राष्ट्रकै समृद्धिका लागि महत्वपूर्ण बन्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थललाई समयमै सम्पन्न गराउनका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल भइरहेको उहाँको भनाइ छ ।

विमानस्थलमा नहरका कारण पर्नसक्ने अप्ठ्यारोका लागि प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयलगायत सरोकारवालासहितको कार्यदल गठन गरिसकिएको र यस सम्बन्धमा  चाँडै नै निष्कर्षमा पुगिने उहाँले बताउनुभयो ।

विमानस्थलसहितका राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नमा स्थानीय सरकारको समन्वय र सहकार्यमा  प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखरा विमानस्थल निर्माणसँगै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत जोड दिँदै आएको बताउनुभयो ।

पर्यटकीय नगरी पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनेसँगै पोखरामा विदेशी पर्यटकको आगमन सहज बन्ने र पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वासमा आफूहरु रहेको पोखरा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो ।

‘विमानस्थल निर्माणसँगै पोखरा र आसपासका क्षेत्रमा व्यवसायीले बैंकबाट ऋण लिएर यस क्षेत्रमा राम्रै लगानी गरेका छन्,’ उहाँले भन्नुभयो, ‘विमानस्थल बन्दै गरेका अवस्थामा त्यहीरुपमा यहाँका सडक पूर्वाधार लगायतको निर्माणलाई प्राथमिकताका दिँदै गन्तव्य देश र उडान गरिने शहरका लागि सरकारले आवश्यक प्रक्रिया अब शुरु गर्नुपर्दछ ।’

हालको आन्तरिक तथा बाह्य भाडा दरभन्दा सहुलियतमा उडान सञ्चालन गरेर विदेशी पर्यटक आकर्षित गर्नुपर्नेमा उहाँले जोड छ । गण्डकी प्रदेशको राजधानी पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै सञ्चालनमा आएपछि विश्वसामु पहुच स्थापित हुनेछ ।

विमानस्थलले यहाँको पर्यटन, खेलकूद, शिक्षा, स्वास्थ्य, उद्योग व्यवसायलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने तथा यस क्षेत्रको आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

Comments
Loading...