गाउँपालिकाद्वारा आँधीखोलामा ५२ हजार माछाका भुरा छोडियो

हिमाली आवाज । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा ५२ हजार माछाका भुरा छाडेको छ ।

गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट १४ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न ७ ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ ।
आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।

“नदी, ताल र तलाउको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी तथा तालको कुनै महत्व समेत हुँदैन ।” उहाँले भन्नुभयो ।

खोलामा साना भुरा छोड्दा बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढि रहेकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । उहाँका अनुसार ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको हो ।

Comments
Loading...