सरकार विरुद्ध पोखरामा काँग्रेसको प्रदर्शन, सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप

हिमाली आवाज । नेपाली कांग्रेसले आज पोखरामा सरकारका विरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको जनविरोधी कामविरुद्ध सोमबार देशव्यापी विरोध प्रदर्शन गर्दै सडकबाट प्रधानमन्त्रीको राजिनामा समेत मागेको हो ।

कोरोना महामारीमा जनता मर्दै गर्दा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको, हत्याहिंसा र बलात्कारका घटना रोक्न ओली सरकार असफल भएको पोखरामा आयोजित विरोध सभामा काँग्रेसले आरोप लगाएको छ ।

पोखरामा भएको विरोध प्रदर्शनमा कांग्रेस नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । पोखरासहित गाउँगाउँबाट पनि पोखराको विरोधसभामा कांग्रेसका कार्यकर्ता सहभागी भए । पृथ्वीचोकमा सभा हुनुअघि बिपीचोकबाट शुरु भएको र्याली महेन्द्रपुल, नयाबजार हुँदै पृथ्वीचोक पुगेर सभामा परिणत भएको थियो ।

बिरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिहं केसीले कम्युनिष्टका कारण लोकतन्त्र खतरामा परेको बताउनुभयो । उहाँले ओली सरकारका कारण राष्ट्रियतासमेत धरापमा परेको आरोप लगाउनुभयो । ‘कम्युनिष्टलाई मत दिएर लोकतन्त्र रक्षा गर्छु भन्नु दीवा स्वप्न मात्र हो, अहिले यो कुरा पुष्टी भएको छ’। केसीले भन्नुभयो ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले कांग्रेसले शुरु गरेको आन्दोलन कम्युनिष्टलाई सत्ताच्यूत नगरेसम्म चलिरहने उद्घोष गर्नुभयो । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति यज्ञबहादुर थापाले कांग्रेस तनहुँ घट्नाबाट जागेको बताउँदै तनहुँ घट्नाले कांग्रेसमा चेत खुलेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता महादेव गुरुङ, पुराना नेता खेमराज पौडेल,अन्नपूर्ण गाउँपालिका प्रमुखसमेत रहनुभएका नेता युवराज कुँवर, नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेपाल महिला संघ पोखरा महानगर समितिकी सभापति माया बराल, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, उपसभापति आईबहादुर गुरुङ र सचिव सुदीपमोहन भट्टराई लगायतले काँग्रेसले सरकार गलत क्रियाकलापको भण्डाफोर गरिरहने बताउनुभएको थियो ।

Comments
Loading...