माछापुच्छ्रे हिमालको तल्लो भेगमा भीषण आगलागी

पोखरा,१७ पुस । माछापुच्छ्रे हिमाललाई नै बाक्लो धुँवाले छेक्नेगरि तल्लो भेगमा भीषण आगलागी भएको छ । चारदिनदेखि निरन्तर आगलागी भएको प्रत्यक्षदर्शी एकजना पाइलटले बताउनुभएको छ ।

पोखराबाट हेलिकप्टर आकारको जाइरोकप्टर उडान गरेर पर्यटक घुमाउन लगेका पाइलट सन्तबहादुर लामिछानेका अनुसार उक्त क्षेत्रमा चारदिनदेखि लागेको आगो अझै निभेको छैन । ‘कसले आगो लगायो भनेर त मलाई थाहा छैन । तर, चारदिनदेखि निरन्तर आगलागी भएको छ,’ उहाँले भन्नुभयो । लामिछानेले नै उक्त क्षेत्रको आकाशमा उडिरहँदा तल आगोको मुस्लो देखिने गरेको बताउनुभयो ।

लामिछानेले करिब ९ हजार फिट उचाईबाट शुक्रबार बिहान ९ बजे तस्बिर खिच्नुभएको थियो । उहाँका अनुसार माछापुच्छ«ेको फेदिमा करिब १० हजार फिटको उचाईको जंगलमा आगलागी भएको छ । आगलागी बढेर करिब १२ हजार फिटसम्म उक्लिसकेको बताइन्छ । ‘त्यहाँ मानवबस्ती त छैन । तर, आगलागी भने भीषण छ,आगलागी भएको ठाउँभन्दा निकै नै तल बस्ती छ । उहाँले भन्नुभयो ।

हेलि एयरले संचालन गरेको जाइरोकप्टर उडान गरिहँदा लामिछानेले कोर्चुन भन्दा माथि पनि आगो लागेको बताउनुभयो । तारा हिलटप क्षेत्रमा पनि आगो लागेको छ । ‘आगलागीपछिको बाक्लो धुँवाले हिमाल नै छेकेको छ,’ उहाँले भन्नुभयो ‘पहिला पहिला पनि बेलाबेला आगलागी भएको त देखिन्थ्यो । तर, भीषण आगलागी भएको देखेको थिइन ।’ उहाँले पोखरामा रहेर अल्ट्रालाइट जहाज उडान थालेको १५ वर्ष अवधिमा बारम्बार उक्त क्षेत्रमा उडान भरिरहनुभएको छ ।

आगलागी क्षेत्र माछापुच्छ«े गाउँपालिका–१ मा पर्छ । वडाअध्यक्ष वीरेन्द्र गुरुङका अनुसार वडाको सबैभन्दा अन्तिम बस्ती रुम्जा हो । रुम्जाबाट त्यो जंगलसम्म पुग्न करिब डेढदिन हिड्नुपर्छ । अहिलेसम्म आगलागी भएकोबारे जानकारी नपाएको उहाँले बताउनुभयो । ‘गोठाला वा चोरीशिकारीका लागि पुगेका व्यक्तिले आगो लगाएका हुनसक्छन,’ उहाँले भन्नुभयो ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सुर्य गुरुङका अनुसार काठदाउरा, वन्यजन्तु चोरीशिकारीका लागि गएका व्यक्तिले त्यहाँ आगो लगाएको हुनसक्ने अनुमान गर्नुभयो । ‘त्यहाँ बस्ती छैन । त्यसैले चोरीशिकारीका लागि गएका व्यक्तिले मात्र आगो लगाउन सक्छन,’ उहाँले भन्नुभयो । यो समाचार नागरिकन्यूजका लागि सन्तोष पोखरेलले लेख्नुभएको हो ।

Comments
Loading...