सहारा क्लबले आहा रारा गोल्डकपबाट बचायो  १८ लाख ९७ हजार 

हिमाली आवाज । सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न  १८ औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ ।

गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट रु ८८ लाख १० हजार ३६६ आम्दानी भएकामा प्रतियोगिता सम्पन्न गर्न रु ६९ लाख १२ हजार ७०९ खर्च भएर सो रकम बचत भएको क्लबले आज विज्ञप्तीमार्फत जनाएकोे हो ।

प्रतियोगिताबाट बचत रकम पोखरा महानगरपालिका–१७ दोविल्लामा क्लबद्धारा सञ्चालित फुटबल एकेडेमीका बालकहरुको आवास तथा शिक्षा दिक्षामा खर्च गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । सहाराले एक दशकभन्दा अघिदेखी एकेडेमी  सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।

प्रतियोगिताको प्रवेश टिकटबाट रु २८ लाख सात हजार ४७०, व्यानर तथा आर्थिक सहयोगबाट रु १६ लाख ६८ हजार ७७२, सिजनल टिकटबाट रु३६ हजार, बैंक व्याज आम्दानीबाट रु ४२ हजार १४५ आम्दानी प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सबाट रु १२ लाख ५१ हजार,गण्डकी प्रदेश सरकारबाट रु १० लाख,राष्ट्रिय खेलकूद परिषद् लगायतका संस्था लगायतबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।

प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च बापत रु२५ लाख सात हजार १६८, प्रोत्साहन खर्च रु १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यव्स्थापनमा रु छ लाख ८२ हजार ७५० लगायतका शिर्षकमा खर्च भएकोे क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाको कारणले गर्दा अझै पनि केही रकम सङ्कलन हुन बाँकी रहेकाले आय÷व्यय सार्वजनिक गर्न ढिलाइ भएको हो ।

Comments
Loading...