टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी तथा महिलातर्र्फ एपिएफ र पुलिस फाइनलमा भिड्ने

हिमाली आवाज । ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ दुई विभागीय एपिएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही माघ २७ गतेदेखी पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा ‘लिग कम नकआउट’का आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपिएफलाई सोझो सेटमा पराजित गरी अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको हो ।

गण्डकीले एपिएफलाई पहिलो सेट २५–२१ मा पराजित गरेकामा दोस्रो र तेस्रो सेट २९–२७ र २५–१५ अङ्कले पराजित गर्न सफल भएको थियो ।यसैगरी पुरुषतर्फको आज सम्पन्न खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरी प्रतियोगिताको उपाधि नजिक पुग्न सफल भएको छ । आर्मीले २६–२४, २५–२२ र २५–१४ अङ्कले पुलिसमाथि जित निकालेको हो ।

महिलातर्फको आज भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबले न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गरी फाइनलमा नेपाल पुलिससँगको भेट पक्का गरेको छ ।सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपिएफले न्यू डाइमण्डलाई पराजित गरेको हो । पहिलो सेट एपिएफले २५–२१ मा जितेकामा दोस्रो सेट पनि समान सोही अङ्कमा जित्न सफल भयो भने अन्तिम सेटमा २५–२३ अङ्कको जित निकाल्यो ।
लिगको अङ्क तालिकामा एपिएफ र न्यू डायमण्ड दुबैको समान पाँच÷पाँच अङ्क भएपनि अन्तिम खेलमा जित निकालेको र सेटका आधारमा एपिएफ फाइनलमा प्रवेश गरेको टाइगर ग्रुफका सचिव प्रकाश बरालले जानकारी दिनुभयो ।

नेपाल पुलिस क्लब भने लिगको अङ्क तालिकामा सर्वाधिक छ अङ्क जोड्न सफल भई यसअघिनै फाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतियोगिताको फाइलन खेल शनिबार हुनेछ । पहिलो खेल महिलाको पुलिस र सशस्त्रको दिउसो १२ः०० बजे तथा पुरुषको गण्डकी र आर्मीबीच दिउसो २ः०० बजे सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार पाउनेछन् । उपविजेताले हुुन सफल दुबै टोलीले रु ७५ हजार सहित ट्रफी र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट हुन सफल महिला तथा पुरुष खेलाडीले समान रु २०÷२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीलाई समान रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

Comments
Loading...