सिर्जना विकास केन्द्रको आठ बुँदे घोषणा पत्र जारी

हिमाली आवाज । सिर्जना विकास केन्द्रले रणनीतिक योजना परामर्श गोष्ठी आइतबार र सोमबार अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा सम्पन्न गरेको छ । सृजना विकास केन्द्रको योजना तर्जुमा उच्चस्तरीय समितिले गोष्ठी आयोजना गरेको हो ।

गोष्ठीले ८ बुँदे घोषणापत्र जारी गरेको छ । संस्थालाई समय अनुकुल परिमार्जन गर्दै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने, लक्षित वर्गलाई जीवनोपयोगी शिक्षा प्रदान गर्ने, युवाहरुको सशक्तीकरण सहित खेलकुद सम्बन्धी कार्यक्रम गर्ने, पर्यावरणीय प्रभावलाई न्युनीकरण गर्न सक्रिय भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ ।

स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्न विविध क्रियाकलाप सञ्चालन गर्ने, कृषि र पर्यटनलाई मध्यनजर गर्दै उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्ने, संस्थामा उपलव्ध मानव संसाधनलाई अधिकतम उपयोग र विकास गर्ने र इतिहास,वर्तमान र भविष्यलाई समेट्ने गरी वृत्तचित्र तयार गर्ने घोषणापत्रमा समेटिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले संस्थाको दीर्घकालीन योजना निर्माणलाई आफ्नो कार्यकालभर प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयोय । पहिले भएका कामलाई निरन्तरता दिँदै थप नयाँ कामको पनि थालनी हुने उहाँको भनाई छ ।

योजना तर्जुमा उच्चस्तरीय समितिका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष डम्बरबहादुर केसीले घोषणापत्रमा भएका योजनालाई प्राथमिकतामा राखेर समय सान्दर्भिक गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।

गोष्ठीमा शिक्षा तथा संस्कृति विषयमा हरिप्रसाद बराल, युवा तथा खेलकुदमा वीरेन्द्रनारायण विजुक्छे, संस्थागत विकासमा विष्णुप्रसाद बराल र स्वास्थ्य तथा वातावरणमा रुद्रनाथ बरालले सहजकर्ताको भूमिका खेल्नुभएको थियो ।

गोष्ठीमा भएका गतिविधिहरु रिपोटीङ्ग गरी तयार पर्ने काम संस्थाका पूर्व अध्यक्ष विर वहादुर अधिकारीले गर्नुभएको थियो ।कार्यक्रममा निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराई, पूर्व द्वितीय उपाध्यक्ष पार्वती बराल, सल्लाहकार सभापति सोमनाथ बराल लगायतले भनाई राख्नुभयो । गोष्ठीमा ४० जनाको उपस्थिति रहेको थियो ।

संस्थाले विगत ४० वर्षदेखि महिला तथा बालबालिका, युवातथा खेलकुद, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सामाजिक काम गर्दै आएको छ । पोखराको सिमलचौरमा कार्यालय रहेको संस्थाले आफ्नै बालगृह र खानेपानी परियोजना सञ्चालन गरिरहेको छ ।

यसअघि संस्थाले बैंकिङ कार्यक्रम समेत सञ्चालन गर्दै आएको थियो । सिर्जना बहिरा विद्यालयको स्थापना समेत संस्थाले नै गरेको हो ।

Comments
Loading...