पोखरा विमानस्थलमा विमान दुर्घटना भएर धुवाँको मुल्लो निस्किएपछि…

कृष्ण दवाडी

हिमाली आवाज । साँझ ४ः२० बजेको समय हुँदो हो पोखरा विमानस्थलमा एकाएक कालो धुँवाको मुस्लो बडारिन्छ । काठमाडौँबाट पोखराका लागि उडान भरेको हवाईजहाज अवतरणको क्रममा धावनमार्ग भन्दा बाहिर दुर्घटनामा पर्दछ ।

दुर्र्घटनापछि विमानस्थलको उत्तर पूर्वस्थित पेरिफेरी रोड नजिक विमानमा आगो लाग्न शुरु हुन्छ । तत्कालै दमकल सहित उद्धारकर्ताहरु आगो बलिरहेको ठाउँतर्फ दौडिन्छन् । विमानस्थल प्राधिकरणले उडान अवतरणका सबै काम बन्द भएकोे घोषणा गर्दछ ।

विमानभित्रबाट घाइतेहरुको चित्कार सुनिन्छ । जहाजबाट घाइतेलाई बाहिर निकाल्सन शुरु हुन्छ । केहीको दुर्घटनामा मृत्यु पनि हुन्छ ।

घाइतेहरुलाई चौरमा प्राथमिक उपचारपछि गम्भीर घाइतेलाई तत्कालै हेलिकप्टरबाट मणिपाल अस्पताल र अन्यलाई नजिकको अस्पतालमा एम्बुलेन्समा राखेर लैजाने काम हुन्छ । अग्नी नियन्त्रक जहाजमा लागेको आगो नियन्त्रणमा व्यस्त हुन्छन् भने उद्धारकर्ता घाइते र मृतकलाई अस्पताल लैजान । केही क्षणमै आगो पूर्ण रुपमा नियन्त्रणमा आउँछ ।

उल्लेखित विवरण आज साँझ पोखरा विमानस्थलमा देखिएको हो तर घटना भने साँचो होइन ।  गण्डकी प्रदेश सरकारले विमानस्थलमा हवाईजहाज आपत्कालीन उद्धार अभ्यास कार्यक्रम अन्तर्गत काल्पनीक घटना अभ्यासको नमूना प्रर्दशन गरिएको थियो । विपत्तिबाट कसरी क्षति न्यूनीकरण गर्ने भन्ने बारेमा उद्धारकर्ताहरुका लागि सो अभ्यास गरिएको थियो ।

प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् उद्धारकर्मीहरुको क्षमता विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको काल्पनिक घटना अभ्यासमा प्राकृतिक प्रकोप लगायतका विपत्तिहरुका कसरी शीघ्र उद्धार र क्षति न्यूनीकरण गर्ने भनेर सो अभ्यास गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, अन्य मन्त्रीहरु, प्रदेश सरकारका विभिन्न कार्यालयका प्रमुख तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा अङ्गका प्रमुखहरु कार्यक्रममा सहभागी हुनुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले मुख्यमन्त्री गुरुङले विगतमा मानविय शक्ति हुँदा समेत साधन स्रोत नहुँदा भुकम्प लगायतका प्रकोपमा ठूलो क्षति बेर्होनुपरेको बताउँदै   विपत्तिका बेला स्रोत साधन सम्पन्न हुँदा जनताको ज्यान बचाउन सकिने र क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“विपद् बाजा बजाएर आउँदैन, कुनैपनि बेला,दिन, समय आउन सक्छ । त्यसको सामना गर्ने र त्यसले पार्ने नोक्सानीका लागि जहिलेपनि साधन र स्रोत सम्पन्न भएरन तयार भएर बस्नु पर्दछ भन्ने आजको अभ्यासले महत्वपूर्ण सन्देश दिएको छ ।” मुख्यमन्त्री गुरुङले प्रदेशमा विपत्ति आउँदा उद्धारका लागि धेरै कठिनाई भोग्नुपरेको बताउँदै देशका सबै प्रदेशहरुमा पनि विपद् व्यवस्थापन प्राधिकरण आवश्यक रहेको र मानविय जनशक्तिलार्ई तालीम, पूर्वाधार र साधन स्रोतले सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले विपद्पछिको  क्षति न्यूनीकरणका लागि सबै क्षेत्रबाट पूर्वतयारी र स्पष्ट कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ ।

गण्डकी प्रदेशमा पहिरो, आगलागी, सडक दुर्घटना, हिमआँधी, ताल तथा खोचमा पर्ने लगायतका विपत्तिका घटना बढी घट्ने गरेको उल्लेख गर्दै त्यस प्रकारका घटनाबाट सुरक्षित रहन आम नागरिक सचेत बन्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर विजयपुरमा चैत १ देखी शुरु भएको विपद् उद्धारकर्मीहरुका लागि क्षमता अभिवृद्धि तालीममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Comments
Loading...