पोखरा बचत सहकारीमा ८८ करोड बढी हिनामिना, अध्यक्ष सहित ७ जना पक्राउ

हिमाली आवाज ।  पोखरामा पुनःअर्को एक सहकारी संस्थामा करोडौँ रकम हिनामिना भएको छ । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरिएको पुष्टि भएको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले गरेको अनुसन्धानमा घोटाला भएको पुष्टि भएपछि कार्यालयले प्रहरीलाई विस्तृत अनुसन्धानका लागि पत्राचार गरेको छ । सोही आधारमा प्रहरीले सहकारी घोटालामा संलग्न भएको आरोपमा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार सहित सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार  अध्यक्ष गोदार सहित अन्य साता जनालाई पोखराबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद द्धा रहेको भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा तयार पारिएको छानबिन प्रतिवेदनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। “सहकारीमा ठुलो रकम हिनामिना भएको उजुरीका आधारमा थप अनुसन्धान गर्दा अध्यक्षदेखि व्यवस्थापकसम्म प्रत्यक्ष संलग्न देखिएकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको ,” बस्नेतले बताउनुभयो ।

सहकारीका पदाधिकारीहरूले बिनाधितो ऋण, नक्कली खाता र अवैध लगानी मार्फत करोडौँ रकम दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयमा बचतकर्ताहरूले रकम नपाएको उजुरी दिएपछि गरिएको छानबिनमा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरू मिलेर ठगी गरेको तथ्य खुलेको थियो।

Comments
Loading...