प्रतिभाशाली एन्जिला : दौडमा लगातार एघारौँ पटक च्याम्पियन बनिन्

हिमाली आवाज । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा साप्ताहिक मासिक दौड आयोजना हुँदै आएको छ । पोखरा म्याराथनको आयोजक संस्था समेत रहेको मञ्चले गत वर्ष पुसदेखी हरेक महिना दौड आयोजना गर्दै आएको छ ।

कात्तिक महिनामा एघारौँ संस्करण सम्पन्न भयो । पोखरा रङ्गशालामा भएको सो दौडमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोककी एन्जिला जिटीले इतिहास बनाएकी छन् । उनले छात्रा तर्फ पाँच किमि दाैडमा उपाधि जित्दै आएकी छन् ।

उनी एघारौँ संस्करणसम्म निरन्तर भाग लिइ लगातार प्रथम हुन सफली भएकी छन् । सानैदेखी खेलकुदमा रुची भएकी एन्जिलाको प्रतिभाले सबैलाई लोभ्याएको छ । घाचोककै मेघराज आधारभुत विद्यालयमा कक्षा ८ मा पढ्छिन् एन्जिला । कमल बहादुर भुजेल र शान्ति भुजेलकी सुपुत्री एन्जिलाको सपना राम्रो खेलाडी बनेर देशलाई चिनाउने रहेको छ ।

उनको सफलताले बुबाआमा समेत खुशी छन् । एघारौँ संस्करणसम्म उपाधि जित्न सफल भएकी एन्जिलालाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रनिङ जुत्ता प्रोत्साहन स्वरूप प्रदान गर्नुभयो ।

पोखरा रंगशालाको फुटबल मैदानबाट शुरु भएको दौड पोखराका बिभिन्न भागहरुको परिक्रमा पछि सोही स्थानमा आएर समाप्त भएको थियो । दौडमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Comments
Loading...