गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा अधिकारीलाई

हिमाली आवाज । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनौट समितिका संयोजक डा जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशी ११ हजार ५ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।

त्यस्तै बाल साहित्य पुरस्कार दिपशिखा पौडेललाई र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने निर्णय समेत गरिएको छ । हरेक वर्ष प्रदान गरिने तीन वटै पुरस्कार यस वर्ष चैत्र १४ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिनुभयो ।

डा जगन्नाथ रेग्मी संयोजक रहेको प्रतिभा छनौट समितिमा सदस्य पत्रकार दुर्गा अधिकारी र साहित्यकार रामनाथ अधिकारी सदस्य रहनुभएको थियो । गीताञ्जली साहित्य रत्न पुरस्कारबाट यसअघि डा कुसुमाकर न्यौपाने, कवि तेजनाथ घिमिरे, रुद्रबहादुर थापा मगर हितानी, तारा पाखे, शरण आसु लगायतका व्यक्तित्वहरु सम्मानित भईसक्नुभएको छ ।

विसं २०५८ सालमा स्थापित संस्थाले भाषा साहित्य संस्कृतिको जगेर्ना गर्दै बालबालिका युवायुवती, जेष्ठनागरिकलाई समेत आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर समान रुपले प्रदान गर्दै आएको छ । संस्थाले आफ्नो स्थापनादेखि अहिलेसम्म २२० औं साधना प्रभात नियमित रचनाबाचन गर्दै आएको छ ।

Comments
Loading...