काठमाडौँ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्यि विमानस्थलका लागि रिठ्ठेपानी डाँडाको कटान गर्न सरकारले अनुमति दिएको छ ।
मन्त्रिपरिषद् बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय विमानस्थलको रनवेको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाका रुख तथा पोल कटान गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
विमानस्थल आयोजनाका अनुसार विमान सुरक्षित अवतरण र उडानका लागि करीव ४० मिटर यस डाँडा कटान गर्नुपर्ने हुन्छ । यो डाँडामा १ सयदेखि डेढ सय रुख काट्नु पर्नेछ । विगतमा सरकारले अनुमति नदिँदा डाँडा कटानकोे काम अघि बढ्न सकेको थिएन ।
सरकारले डाँडा कटानको अनुमति दिएसँगै काम अघि बढ्ने पोेखरा विमानस्थल आयोजनाले जनाएको छ । यो विमानस्थलबाट उडान तथा अवतरणका लागि ठूला जहाजले धावनमार्गको दुवै साइड प्रयोग गर्न सक्ने छैनन् । जहाज उड्ने र अवतरण गर्ने दिशामै पर्ने यो डाँडो कटान गर्नुपर्ने छ ।