कास्कीका पत्रकार र परिवारको निःशुल्क स्वास्थ्य बीमा शुरु

हिमाली आवाज । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आवद्ध पत्रकारहरुको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ ।

महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु गरेको बीमा कार्यक्रमको आज महानगर प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभयो ।

प्रमुख जिसीले प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार बद्रीविनोद प्रतीक र उहाँका श्रीमति सावित्री खनाललाई बीमा परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
बीमा कार्यक्रम अन्तर्गत पाँच जनासम्म परिवारका सदस्य रहेका पत्रकारको वार्षिक रु तीन हजार ५०० भुक्तानी महासङ्घबाट गरिने र परिवारका सदस्यले वार्षिक रु एक लाख सम्मको स्वास्थ्य उपचार सुविधा बीमाबाट प्राप्त गर्ने शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार देशमै पहिलोपटक शुरु गरिएको यस कार्यक्रममा शाखामा आवद्ध ३०० पत्रकारको परिवारका सदस्यको बीमा गरिनेछ । पाँच जना माथिको परिवारका सदस्यका लागि प्रति सदस्य रु ७०० भुक्तानी गरिने बताइन्छ ।

महानगरले स्थापना गरेको पत्रकार कल्याणकारी कोष अन्तर्गत अघिल्लो दुई आर्थिक वर्षमा रु ४५ लाख बजेट निकासा भएको र चालू वर्षमा रु २० लाख थप गरेर रु ६५ लाख पुु¥याइने र सो व्याबाट पत्रकारको परिवारको बीमा गरिने महासङ्घले जनाएको छ । सो कोषलाई वृद्धि गरी रु एक करोड बनाउन महानगरसँग आग्रह गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ पोखराका पत्रकारहरुको स्वास्थ्य बीमा गर्न पाए हुन्थ्यो भन्ने ठूलो सपना थियो,लामो प्रयासपछि अत्यन्त मेहनतका साथ त्यसलाई फत्ते गरेका छौँ । पत्रकार र उहाँहरुको परिवारका सबै सदस्यको बीमा गर्ने सपना पूरा भएको छ ।”

कार्यक्रममा महानगरप्रमुख मानबहादुर जिसीले आफूू निर्वाचित भएर आएपछि पत्रकारहरुका लागि देखिने गरी उपलव्धीमूलक काम गर्ने योजना रहेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रमबाट पत्रकार सहित उहाँहरुको परिवारलाई समेत सहयोग मिलेको बताउनुभयो ।स्वास्थ्य बीमा बोर्ड गण्डकीका प्रमुख जीवलाल खरेलले प्रदेशका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा कार्यक्रम लागू भएको जानकारी दिँदै हालसम्म कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको जानकारी दिनुभयो ।

सेवाग्राहीको अनुकुलताका आधारमा सेवा केन्द्र छनोट गर्न सकिने बताउँदै उहाँले सेवाका सम्बन्धमा उठेका गुनासाहरुलाई क्रमश सुधार गर्दै लगिने प्रतितवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार माधव शर्मा, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष नविन सिग्देल, प्रेस चौतारीका संयोजक अर्जुन गिरी, प्रेस सङ्गठनका संयोजक सन्देश श्रेष्ठ, सञ्चारिका समूह गण्डकीका अध्यक्ष स्मिता अधिकारी, महासङ्घका उपाध्यक्ष विमला भण्डारी र सचिव रामप्रसाद तिमिल्सिनाले बीमा कार्यक्रम सञ्चारकर्मी र उहाँहरुको परिवार दुबैका लागि फाइदाजनक रहेको बताउनुभएको थियो ।

Comments
Loading...