हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसुती गराइएको छ ।
स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले बुधबार राति ८ः५६ बजे आइसोलेशन कक्षमा सामान्य विधिबाट प्रसुती गराउनुभएको हो ।
यसअघि शहरका अस्पतालहरुमा सङ्क्रमित महिलाको प्रसुती गराइएपनि गाउँकै स्वास्थ्य चौकीमा आइसोलेशन सेन्टरमा गर्भवतीलाई सुत्केरी गराइएको पहिलो पटक भएको बताइन्छ । गाउँमै संक्रमितलाई सुरक्षित गराउन सफल भएकामा स्वास्थ्यकर्मी उत्साहित भएका छन् ।

साँझ ८ बजे सुत्केरी व्यथा लागेर स्वास्थ्य चौकी आउनुभएका ती महिला र उहाँका श्रीमान्को एन्टिजिन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा(छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्य चौकीका कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले गर्भवती महिलाको सुत्केरी गराउनुभएको स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीका इन्चार्ज घिमिरेले भन्नुभयो,“सुत्केरी व्यथा लागेपछि गाडी पठाउन आग्रह गरेपछि हामीले उहाँलाई स्वास्थ्य चौकीमा ल्याएका थियौँ । महिला र उहाँका श्रीमान्को परीक्षण गर्दा कोरोना पोजिटिभ आयो । गाउँमै पहिलो पटक कोभिड पोजिटिभ बिरामीको सुत्केरी गराउन पाउँदा हामी सबै स्वास्थ्यकर्मी खुःशी भएका छौँ ।”
सार्दिखोला स्वास्थ्य चौकीमा सामान्य अवस्थाका महिलाको सुत्केरी गराउने गरेपनि जटिल अवस्थाकालाई पोखरा रिफर गर्ने गरिएको छ ।