मादीका बाढी पीडितलाई पुनःबासको व्यवस्था गर्न प्रदेश सरकारसँग काँग्रेस र माओवादीको माग

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकामा केही दिनअघिको बाढी पहिरामा परी विस्थापित भएका घर परिवारलाई पुनःबासको व्यवस्था गर्न माग गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आज नेपाली काँग्रेस र माओवादी केन्द्रको गाउँ कमिटीले संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै विस्थापितको पुनःबास, पीडितहरुको संरक्षण,उद्धार, राहत वितरण तथा मादी नदी नियन्त्रण गर्न तटवन्धको माग गरेका हुन् ।

गत जेठ ३० देखी असार १ गतेसम्मको अविरल वर्षाका कारण मादीको वडा नं १,२,४,६,७ र ८ मा बाढी पहिरोबाट ठूलो क्षति पुगेको तथा अन्य क्षेत्रमा समेत क्षति भएकाले क्षतिको मुल्याङ्कन गरी पीडितहरुलाई क्षतिपूर्ति तथा विस्थापितलाई वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष कृष्णराज दाहालले बताउनुभयो ।

बाढी पहिराका कारण मादी–१ को सोँधामा १५ घर विस्थापित भएको तथा पूरै गाउँ जोखिममा रहेको, पदुखोलामा दुई घर विस्थापित, सिक्लेसको हुगु लेकमा ३०४ भेडा बाढीले बगाएको बताइन्छ ।

यसैगरी वडा नं २ को रोही गाउँका चार घर विस्थापित,वडा नं ४ मा एक घर विस्थापित,मादी ६ को चासुमा चार र मादी–७ मा छ घर र वडा नं ८ मा दुई घर विस्थापित भएको नेपाली काँग्रेस गाउँ इकाई सभापति देवीजंग गुरुङले जानकारी दिनुभयो ।

बाढीबाट मादीमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनामा नोक्सानी पुगेको, विद्युत पोल ढल्दा गाउँहरु विजुलीबाट बञ्चित रहेको र सडक अवरुद्ध हुँदा सवारी सञ्चालन ठप्प रहेकाले अविलम्व सडक खुलाउनका लागि सरकारको ध्यानाकर्षण गराइएको थियो ।
सो अवसरमा मुख्यमन्त्री नेपालीले तत्काल गर्न सकिने काम तुरुन्त शुरु गर्ने र दीर्घकालीन महत्वका कार्यलाई योजनामा समेटिने बताउनुभयो ।

प्रदेश सरकार विस्थापितलाई बासस्थानको व्यवस्था र क्षति पुगेको संरचनाहरुको पुनःनिर्माणमा प्रतिवद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण केसी र माओवादी केन्द्रका जिल्ला सचिव बखानसिँह गुरुङ लगायत दुबै दलका जिल्लास्तरका नेताहरुको उपस्थितिमा मुख्यमन्त्री नेपालीलाई ध्यानाकर्षण गराइएको मादी ७ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...