पोखरा महानगरको नीति कार्यक्रम :कोभिड नियन्त्रण,पूर्वाधार विकास र सुशासन

–कृष्ण दवाडी
हिमाली आवाज । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले कोरोना भाइरस(कोभिड–१९)को नियन्त्रण, पूर्वाधार विकास, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी वर्ष २०७८÷०७९को नीति तथा कार्यक्रम ल्याएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले आजदेखी शुरु भएको नवौँ नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दे महानगरपालिकाको दीर्घकालीन सोच ‘समुन्नत पर्यटकीय पोखरा’लाई व्यवहारमा रुपान्तरण गर्ने गरी आगामी वर्षका कार्यक्रम ल्याइएको बताउनुभयो ।कोरोना नियन्त्रण र नागरिकको जीवन रक्षाको लागि हर सम्भव कार्य गर्ने महानगरको नीति रहने छ ।

सञ्चालित आइसोलेसन, अस्पताल वार्डको सुसञ्चालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यहरुलाई निरन्तरता दिइने प्रमुख जिसीले बताउनुभयो ।

कोरोनाका प्रभाविता व्यवसायीलाई समयसीमा प्रदान गरी कर छुट तथा राहतको व्यवस्था गरिने र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिने महानगरको नीति छ ।

पूर्वाधार विकासतर्फ विकटलाई निकट ल्याउने लक्ष्य सहित शुरु गरिएको ‘कनेक्टिङ सडक कार्यक्रम’प्राथमिकतामा राखिएको छ । यसवर्ष कोभिडको कारणले सम्पन्न हुन नसकेका आयोजनाहरु आगामी वर्ष प्राथमिकताका दिई सम्पन्न गर्ने नीति महानगरले लिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन, मुख्य शहरी सडकमा अस्फाल्ट कालोपत्रलाई विस्तार गर्ने र अस्फाल्ट पिच गरेको सडक कुनै पनि प्रयोजनको लागि कम्तिमा दुई वर्ष खन्न नपाउने नीति लिइएको छ ।

‘उज्यालो पोखरा अभियान’आगामी वर्षमा सम्पन्न गर्ने, विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक बेगनास सडकको निर्माण कार्य आरम्भ गर्ने र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सम्पन्न गर्न सहयोग गरिने महानगर प्रमुख जिसीले बताउनुभयो ।

ढल व्यवस्थापन गुरुयोजना निर्माण र ढल प्रशोधन गर्न जग्गाको खोजी गर्ने, आगामी वर्ष सम्पन्न हुने योजनाहरुलाई प्राथमिकतामा राख्ने, रु २५ लाख सम्मका योजनाहरु उपभोक्ता समिति मार्फत् सञ्चालन गर्न प्रोत्साहित गर्ने र सडक निर्माणतर्फ बजेट विनियोजनलाई भौगोलिक हिसाबले सन्तुलित बनाउने नीति महानगरको छ ।

वडा कार्यालय तथा महानगरको प्रशासकीय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य तर्फका भवनहरु, कृषि एवं पशु सेवा तर्फका सेवा केन्द्रहरु, विद्यालयका भवनहरु र सामुदायिक भवनहरु निर्माण गर्ने गरी प्राथमिकताको क्रम निर्धारण गरिएको प्रमुख जिसीले बताउनुभयो ।

पोखरा उपत्यकामा संचालित खानेपानी योजनालाई अविलम्ब सम्पन्न गर्न सहयोग र समन्वय गर्ने, गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा सभागृहको जीर्णोद्धार, सिटी बस टर्मिनल निर्माण तथा लामेआहालमा प्रस्तावित बसपार्कको निर्माणको लागि पोखरा उपत्यका नगर विकास समिति एवं प्रदेश सरकारका सम्बन्धित कार्यालयहरुसँग सहकार्य गर्ने नीति महानगरको छ ।

महानगरले सुशासन तथा सेवा प्रवाहसँग सम्बन्धित रहेर .नेपाल सरकारले कर्मचारीको हकमा लागू गरेको भत्ता वृद्धि, पर्यटन काज, बालविकास सहयोगीहरुको सुविधा, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा, तथा प्रहरी कर्मचारीको हकमा वृद्धि गरेको राशन खर्च जस्ता निर्णयको कारणले सिर्जना हुने आर्थिक दायित्व वहन गर्ने गरी बजेट तर्जुमा गरिने जनाएको छ ।

health

आन्तरिक पर्यटनमा टेवा पु¥याउन जनप्रतिनिधिलाई पाँच दिनको पर्यटन बिदा उपलब्ध गराउने नीति महानगरको छ । जनतालाई पायक पर्ने गरी महानगरको प्रधान कार्यालय वडा नं १२ मा यसैवर्ष शुरु गर्ने र वडा कार्यालयहरुको भवन निर्माण अभियानलाई निरन्तरता दिइने प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ ।

नगर प्रहरीलाई थप जनशक्ति तथा स्रोत साधनयुक्त बनाउने, प्रहरी सेवालाई ब्यारेक प्रणालीमा रुपान्तरण गरी २४ सै घण्टा ड्युटीमा खटाइने,महानगरका सेवालाई सूचना प्रविधितर्फ अग्रसर गराउने र व्यवसाय करलाई डिजिटल बनाउन आवश्यक पूर्वाधार निर्माण गरी सेवा आरम्भ गर्ने नीति महानगरको छ ।

महानगरले संस्थागत विकासँसँग जोडिएका कर्मचारीहरुको क्षमता विकास र कर्मचारीलाई कार्यसम्पादनका आधारमा पुरस्कार र दण्डको नीति लिइने जनाएको छ ।
सामुदायिक विद्यालयहरुलाई क्रमशः प्राविधिक विद्यालयमा स्तरोन्नति गर्ने, बाल विकास केन्द्र, आधारभूत विद्यालय, माध्यामिक विद्यालय, सामुदायिक सिकाइ केन्द्रहरुको स्तरोन्नति गर्दै प्राविधिक शिक्षाको अनुपात वृद्धि गरी रोजगार मूलक शिक्षामा जोड नीति महानगरको छ ।

स्थानीय माग बमोजिमको पाठ्यक्रम निर्धारण र कार्यान्वयन, कोरोनाका कारण विद्यालय सञ्चालन हुर्न नसक्दा विद्यार्थीमा परेको असरलाई मध्यनजर गरी विद्यालयहरूमा वेबसाइट निर्माण, इन्टरनेट, सुविधा विस्तार गरी कक्षा कोठा प्रविधि मैत्री बनाउँदै एक विद्यालय एक प्राविधिक कक्ष र निर्माण गरिने महानगरले जनाएको छ ।

राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण, स्तरोन्नति लाई निरन्तरता , महानगरस्तरीय मेयर कप खेलकूद र महानगर वर्ष खेलाडी छनोट गरी सम्मानको नीति महानगरले लिएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने , महानगर रत्न चयन गरी सम्मान, साहित्य महोत्सव सञ्चालन तथा महानगरवासी स्रष्टाहरूको अभिलेख तयार गरी व्यवस्थित गरिने महानगरले जनाएको छ ।

युुवालाई व्यवसाय तथा उद्यम मूलक कार्यमा लगाउने र विपद् उत्थानकार्यमा युवाहरू परिचालन गर्न ‘एक वडा एक विपद् उद्धार समूह’ तयार गर्ने नीति महानगरको छ ।स्वास्थ्य कार्यालयहरुबाट प्रदान गरिने निशुल्क औषधीको लागि बजेट व्यवस्थापन, लेखनामा निर्मित कोभिड वार्डलाई १०० श्ययामा विस्तार , ज्येष्ठ नागरिकलाई नेपाल सरकारले प्रदान गरेको सामाजिक सुरक्षा भत्तामा थप गरी प्रदान गरिने रकमलाई निरन्तरता प्रदान गरिने र ज्येष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र स्थापना गर्ने नीति लिइएको प्रमुख जिसीले बताउनुभयो ।महानगरको आर्थिक विकासका लागि पर्यटन, सहकारी, कृषि उत्पादन र उद्योग वाणिज्य तथा आपूर्तिमा जोड दिइएको छ ।

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पोखराको पर्यटकीय ब्रान्डिङ र बजारीकरण, पर्यटकको सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गराउनका साथै स्वदेशी तथ विदेशी पर्यटकको आगमनमा वृद्धि गर्न आवश्यक पहल गर्ने नीति महानगरको छ ।प्राकृतिक सम्पदा ताल, नदी नाला, गुफा, धार्मिक स्थल, कोटहरुको संरक्षण गर्दै पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना र नजी क्षेत्रको साझेदारीमा पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

महानगरले पर्यटन पूर्वाधारहरुको निर्माण, पर्यटन प्रवद्र्धन, जनशक्तिको क्षमता विकास तथा होम स्टेहरुको क्षमता विकास एवं प्रचार प्रसार गरी पर्यटन क्षेत्रलाई पुनःउत्थानको नीति लिइने जनाएको छ ।पोखरा पर्यटन विश्वविद्यालय स्थापनाको लागि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथुम)सँग सहकार्य गरिने र निजी क्षेत्रको सहकार्यमा पोखरा कोसेली घर सञ्चालन गरी पोखरा घण्टाघर निर्माणलाई अगाडि बढाइने महानगर प्रमुख जिसीले बताउनुभयो ।

एक सहकारी एक उत्पादन, एक सहकारी एक युवा उद्यम कार्यक्रमलाई अगाडि बढाउँदै युवा उद्यमी सहकारी सञ्चालन सहित रोजगारीका अवसर सिर्जना गर्ने र विपन्न वर्गको लागि उत्पादन मूलक व्यवसायमा व्याज अनुदान उपलब्ध गराउने नीति महानगरले लिएको छ ।

कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धिको लक्ष्य सहित कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर, कृषि उत्पादनलाई पर्यटन स्तरीय होटल एवं रेस्टुरासँग आवद्ध गर्ने नीति निर्धारण गरी ‘खेती योग्य गह, बनाऔं हराभरा’ अभियान सञ्चालन गरिने प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरले कोभिडको महामारीले पिल्सिएका नगरवासीलाई करको भार नपार्न आगामी आर्थिक वर्षमा करका दरहरुमा वृद्धि नगर्ने तर सबै प्रकारका कर दस्तुर तथा शुल्कहरुलाई वैज्ञानिक बनाउने तथा प्राविधिक त्रुटिहरु सच्याउने प्रयास गरिने जनाएको छ ।

टिप्पणिहरु
Loading...